आज (बुधबार)देखि देशभर दोस्रो आर्थिक गणना औपचारिक रूपमा सुरु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गणनाका लागि खटिएका गणक तथा सुपरीवेक्षकहरू आ–आफ्नो कार्यक्षेत्रमा पुगिसकेका छन्।
निर्धारित कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो सातासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस अभियानमा करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ।
अर्थ मन्त्रालयले औद्योगिक तथा समग्र आर्थिक क्षेत्रसँग सम्बन्धित यथार्थपरक तथ्याङ्क सङ्कलन गरिने भएकाले सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ। गणनामा उद्योग, व्यापार, सेवा, सहकारी, निजी तथा सार्वजनिक क्षेत्रलगायत १८ वटा आर्थिक क्षेत्रका आधारभूत विवरण सङ्कलन गरिनेछ।
यस क्रममा दर्ता भएका तथा नभएका साना–ठूला व्यापारिक प्रतिष्ठान, रोजगारी सिर्जना गर्ने व्यवसाय, उद्योग, कलकारखाना, गैरसरकारी संस्था, सरकारी निकाय, विद्यालय तथा अस्पतालसमेतको विवरण सङ्कलन गरिनेछ।
आर्थिक गणनाको तयारीअन्तर्गत पूर्वचरणका कार्यहरू गत फागुन मसान्तमै सम्पन्न भइसकेका छन्। चैतको सुरुआतसँगै ७७ जिल्लासहित थप सात गरी कुल ८४ कार्यालय स्थापना गरिएका छन्, जुन आगामी असार मसान्तसम्म सञ्चालनमा रहनेछन्।
यसअघि विसं २०७५ मा गरिएको राष्ट्रिय आर्थिक गणनामा देशभर नौ लाख २३ हजार ३५६ वटा प्रतिष्ठान सञ्चालनमा रहेको तथ्य सार्वजनिक गरिएको थियो।