राष्ट्रियसभाका सांसदहरूले सुदूरपश्चिमलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा विकास र प्रवर्द्धन गर्न सरकारसमक्ष माग गरेका छन्।
राष्ट्रियसभाको आजको बैठकको प्रादेशिक सरोकार समयमा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले सुदूरपश्चिम धार्मिक पर्यटनको उपयुक्त गन्तव्य भएको भन्दै पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासमा ध्यान दिन सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए। "धार्मिक पर्यटनका लागि सुदूरपश्चिम प्रचुर सम्भावना भएको क्षेत्र हो। प्रदेशका नौवटै जिल्लाका पवित्र तीर्थस्थल, मालिका, खप्तड, त्रिपुरासुन्दरी, शैलेश्वरीलगायत सुदूरपश्चिम धार्मिक पर्यटनका लागि उपयुक्त छन्। ती क्षेत्रमा पर्यटन प्रवर्द्धनको कुरा गरिए पनि व्यवहारिक कार्यान्वयन हुन सकेको छैन। खप्तड बडिमालिका क्षेत्रमा पूर्वाधार र वासस्थानको व्यवस्था हुन नसक्दा ती क्षेत्रहरू ओझेलमा परेका छन्," उनले भने।
सांसद भट्टले रानीजमरा–गुलरिया सिँचाइ आयोजना फेजआउटको अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्दै करोडौँ लगानी भइसकेको उक्त आयोजनामार्फत किसानको खेतीमा पानी पु¥याएर कृषि उत्पादकत्व बढाउनेतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले धनगढी–दीपायल द्रुतमार्ग चाँडो निर्माण सम्पन्न गर्न पनि माग गरे। साथै उनले कर्णाली नदीको कटानले टीकापुरको पुरानो ऐतिहासिक पार्क जोखिममा रहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराए।
नेकपा (एकीकृत समाजवादी) का सांसद मदनकुमारी शाहले सुदूरपश्चिम धार्मिक र पर्यटन क्षेत्रको विकासको लागि असाध्यै उर्वर भूमि रहेको तथा विकासको प्रचुर सम्भावना रहेको बताइन्। उनले सुदूरपश्चिमलाई पर्यटन विकासको हिसाबले विशेष प्याकेज घोषणा गरी पर्यटकीय पूर्वाधारमा एक पटक कर छुट र दश वर्षसम्म लाभकरमा छुट दिने व्यवस्था गर्न पनि सरकारसमक्ष माग गरिन्। सांसद शाहले सुदूरपश्चिमको भाषा, साहित्य, संस्कृति, सभ्यता र इतिहासको संरक्षण उत्खनन र विकासका लागि विशेष कार्यक्रम घोषणा गर्न माग गरिन्। उनले आगामी बजेटमा सुदूरपश्चिम प्रदेशलाई पर्याप्त बजेट विनियोजन गर्न तथा विशेष प्रदेशको रुपमा घोषणा गरी आर्थिक विकासका लागि नीतिगत र स्रोतको व्यवस्था गर्न पनि सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराइन्।