सिन्धुली अस्पतालको दोस्रो तल्लामा रहेको 'बेड नम्बर ३३' एउटा मौन चीत्कार बनेको छ। यहाँ तेजबहादुर सिञ्जाली मगर दुई वर्ष दुई महिनादेखि कोमामा छन्, जीवन र मृत्युको दोसाँधमा।
कमलामाई नगरपालिका-७ पल्लो रामपुरका स्थायी बासिन्दा तेजबहादुरको शरीर अचेत छ, आँखा खुल्दैनन्, श्वासप्रश्वास र धड्कनमा उतारचढाव आइरहन्छ। उनको स्याहारसुसारको सम्पूर्ण जिम्मेवारी श्रीमती विमला रमौलीले एक्लै धानेकी छन्। माइतीमा बुबा गुमाएकी विमलालाई घरतर्फका वृद्ध सासुससुराको पनि चिन्ता छ। अस्पतालमा उनलाई सघाउने कोही छैन।
२६ महिनाअघि तेजबहादुर र विमलाको दाम्पत्य जीवन खुसीले भरिएको थियो। चार वर्षको प्रेम सम्बन्धपछि विवाह भएको पाँच वर्ष पुगेकै थिएन, सन्तानको योजना बुन्दै थिए। तर, २०७९ चैत २ गते एउटा डरलाग्दो दुर्घटनाले यो दम्पतीको जीवनमा बज्रपात गर्यो। तेजबहादुरले चलाएको मोटरसाइकललाई तीनपाटन-९ का शेषराज पहाडीले चलाएको बोलेरोले ठक्कर दियो, र तेजबहादुर कोमामा पुगे।
"घरबाट निस्कने बेला फोनमा म आउँदैछु, तिमी घर आउने तयारी गरेर बस, भन्नुभयो। म पर्खेर बसिरहेँ। गैरीमा उहाँ दुर्घटनामा पर्नु भएछ," विमलाले सुनाइन्।
उपचारका लागि तेजबहादुरलाई हेलिकप्टरमा काठमाडौंको हेम्स अस्पताल लगियो, जहाँ १० दिनमा रु १२ लाखभन्दा बढी खर्च भयो। आर्थिक अभावका कारण शिक्षण अस्पताल महाराजगञ्जमा पनि उपचार जारी राख्न नसकेपछि सिन्धुली फर्काइयो। १४ महिनादेखि सिन्धुली अस्पतालको 'बेड नम्बर ३३' मा भर्ना गरेर राखिएको छ। आर्थिक अभावका कारण बिरामीलाई जाउलो खुवाउनसमेत समस्या हुन थालेको विमलाले बताइन्।
विमलाका अनुसार तेजबहादुरको उपचारमा हालसम्म रु ५० लाख बढी खर्च भइसकेको छ। पीडक पक्षले दिने भनी सहमति गरेको उपचार खर्चसमेत पाउन सकेको छैन। गाडी चालक रहेका गाडी धनी शेषराज पहाडीले जिल्ला प्रशासन कार्यालयमा बिरामीको उपचारका लागि रु २० लाख दिने सहमति गरेका थिए, तर सोमध्ये रु पाँच लाख मात्र प्राप्त भएको छ। रु ४५ लाखभन्दा बढी ऋण भइसकेको छ र साहुले ऋण तिर्न दबाब दिन थालेका छन्।
पीडकले सहमतिअनुसारको रकम नदिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले क्षतिपूर्तिको मुद्दा फैसला गर्न सकेको छैन। गाडी धनी तथा चालक पहाडी फरार छन्। यता जिल्ला अदालत सिन्धुलीबाट सवारी अङ्गभङ्ग मुद्दा फैसला भइसकेको छ, जसमा पहाडीलाई तीन वर्ष जेल सजाय, रु २० हजार जरिवाना र रु ८०० क्षतिपूर्तिको सजाय तोकिएको छ। तर, फैसला कार्यान्वयनमा आएको छैन र मुद्दा चल्दा धरौटीमा छुटेका पहाडी फेरि पक्राउ परेका छैनन्।
गत वैशाखमा उपचार खर्च दिलाइदिन, दोषीलाई कारबाही गर्न र पीडितलाई न्यायको माग गर्दै विमला बिरामी श्रीमान्सहित जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा धर्ना बस्नुभएको थियो। प्रमुख जिल्ला अधिकारीले चाँडै न्याय दिलाउने आश्वासन दिए पनि विमला अझै न्यायको पर्खाइमा छिन्।