९ असार २०८२ , सोमबार

रामपुर नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा, जिल्लालाई संस्थागत सुत्केरीयुक्त जिल्ला बनाउने तयारी

News
५ जेष्ठ, रामपुर (पाल्पा)।

पाल्पाको रामपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। नगरपालिकाभित्र रहेका बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चित भएसँगै पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो। योसँगै जिल्लाका आठवटै पालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा भएका छन्।

रामपुर नगरपालिकामा आयोजित एक कार्यक्रममा जिल्ला खोप समन्वय समिति पाल्पाले प्रमाणपत्र हस्तान्तरण गरेको थियो। जिल्ला खोप समन्वय समितिका संयोजक टङ्कनाथ खनाल र स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोख्रेलले संयुक्त रूपमा रामपुर नगरप्रमुख रमणबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डित र स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेलाई पूर्ण खोप सुनिश्चितता भएको प्रमाणपत्र प्रदान गरेका थिए।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पोखरेलले यस वर्ष रामपुर नगरपालिकासँगै आठ पालिका पूर्ण खोप सुनिश्चित पालिका भइसकेको जानकारी दिए। उहाँले जेठ ६ गतेभित्र बाँकी दुई पालिकालाई पनि घोषणा गरिने बताए। उहाँले जिल्लामा चालु आर्थिक वर्षभित्र कुनै पनि महिला घरमा प्रसूति हुनु नपरेको तथ्याङ्क प्रस्तुत गर्दै जिल्लालाई पहिलो संस्थागत सुत्केरीयुक्त जिल्ला घोषणाको तयारी भइरहेको जानकारी दिए। पोखरेलले सङ्घीयता पश्चात् २०७९ देखि पाल्पालाई निरन्तर तेस्रो वर्षसम्म पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न सफल भएको बताए।

रामपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले चालु आर्थिक वर्षमा जन्मदेखि १५ महिनासम्मका पाँच सय ५७ र १६ महिनादेखि ५९ महिनासम्मका एक हजार नौ सय ७३ जनाले पूर्ण खोप प्राप्त गरेको तथ्याङ्क प्रस्तुत गरे।

कार्यक्रमको अवसरमा नगरभित्रका दशवटै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा र वडा नं १ लाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको थियो। पाल्पालाई विसं २०७० फागुन १३ गते नेपालकै पहिलो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो।