४ जेष्ठ २०८२ , आईतवार

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र तीन सय शय्यामा स्तरोन्नति हुने

News
४ जेष्ठ, तनहुँ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्यामा स्तरोन्नतिका लागि प्रक्रिया सुरु भएको छ । अस्पतालको स्तरोन्नति गरी देशकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाउने लक्ष्य राखिएको छ ।

अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भइसकेको छ । स्तरोन्नति प्रक्रिया अन्तर्गत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारीका लागि क्षेत्र निर्धारण गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए ।

अस्पताल भवनको स्तरोन्नति, आयोजना निर्माण तथा सञ्चालन गर्न अस्पताल भवन, आकस्मिक सेवा भवन, बहिरङ्ग विभाग, प्रशासनिक भवन, व्यावसायिक भवन, कुरुवा घर, कर्मचारी आवास, खानेपानी ट्याङ्की, अक्सिजन प्लाण्ट, फोहर व्यवस्थापन कक्ष, शवगृह, खेलमैदान, पार्किङ, बहुउद्देश्यीय भवन, पार्क र हेलिप्याड प्रस्ताव गरिएको छ । त्यसका लागि पाँच सय ४७ रोपनी जग्गा आवश्यक पर्ने देखिएको छ ।

पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको अस्पतालमा हाल ५० शय्या मात्र रहेकाले श्वासप्रश्वासका बिरामीको उपचारमा समस्या भइरहेको छ । सरकारले २०६७ मा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । हाल उपचार केन्द्रको नाममा ७४० रोपनी जग्गा प्राप्त भइसकेको छ ।

अस्पतालमा तनहुँ, स्याङ्जा, पाल्पा र नवलपरासीका सेवाग्राही आउने गरेका छन् । अस्पतालले हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ ।

अस्पतालमा दैनिक २५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेकामा तीमध्ये करिब ५० जना श्वासप्रश्वाससम्बन्धीका रहेका छन् । सुविधा विस्तारसँगै सबै प्रकारका स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने अस्पतालको लक्ष्य छ ।