म्याग्दीको रघुगङ्गा गाउँपालिकाका चार वटा वडामा सम्पन्न भएको निःशुल्क पशु स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी कृषकहरू लाभान्वित भएका छन्। नेपाल रेडक्रस सोसाइटी सामुदायिक जीविकोपार्जन प्रवर्द्धन परियोजना म्याग्दीमार्फत रघुगङ्गा गाउँपालिका–३, २, ५ र ६ मा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो।
पशु स्वास्थ्य चिकित्सक र प्राविधिकसहितको टोली वडामा नै आएर पशुको स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण गरेपछि कृषकहरू खुसी भएका छन्। शिविरबाट गाई, भैँसी, बाख्रालगायत कुखुरापालन गरिरहेका एक हजार ४०० जना किसानहरूले सेवा लिएका नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति अमर बानियाँले जानकारी दिनुभयो।
स्थानीय वडाका वडाअध्यक्षको विशेष उपस्थितिमा सम्पन्न शिविरमा किसानहरूले आगामी दिनहरूमा पनि यस्ता शिविरलाई निरन्तरता दिन आग्रह गरेका थिए। रेडक्रसले मानवीय सेवाका साथै गरिब तथा विपन्न वर्गालाई लक्षित गरेर जीविकोपार्जन र आयआर्जनका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएकामा धन्यवाद व्यक्त गर्दै रघुगङ्गा गाउँपालिका–३ का वडाअध्यक्ष खिमबहादुर शाहीले वडाले पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने र सेवा प्रदायक संस्थाहरूसँग समन्वय गरेर अघि बढ्ने बताए।
शिविरमा डा आशिष सापकोटासहित भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रका सुवास रेग्मी एवम् दीक्षा भण्डारीले प्राविधिक सेवा उपलब्ध गराउनुभएको थियो। रेडक्रसको साझेदारीमा भइरहेको सामुदायिक जीविकोपार्जन प्रवर्द्धन परियोजनाअन्तर्गत समुदाय स्तरमा विभिन्न किसिमका तालिमहरू पनि भइरहेका नेपाल रेडक्रस सोसाइटी म्याग्दीले जनाएको छ।