प्राविधिक विषयको उच्च शिक्षामा महिलाको पहुँच बढाउने उद्देश्यले कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘छोरी–बुहारी छात्रवृत्ति’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको कार्यक्रमअन्तर्गत हालसम्म कर्णालीका एक हजार ३१ छोरी–बुहारीले अध्ययनको अवसर पाएका छन्।
सिम्ता गाउँपालिका–४ वजेडीचौरकी आश्मा केसी र वीरेन्द्रनगर–७ इत्रामकी पूर्णाकुमारी खड्का छात्रवृत्ति पाएपछि आफ्नो पढाइ सहज भएको बताउँछन्। उनीहरूजस्तै प्रदेशका धेरै छोरीबुहारीको जीवनमा शिक्षा पुनः सुरू गर्ने ढोका यो कार्यक्रमले खोलिदिएको छ। यो कार्यक्रमबाट प्रदेशका १० जिल्लाका एक हजार ३१ छोरी बुहारी लाभान्वित भएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ।
निर्देशनालयका निर्देशक दिपा हमालले प्रत्येक वर्ष दिइने छात्रवृत्तिबाट प्रदेशका दशवटै जिल्लाका छात्रा लाभान्वित भएको बताइन्। प्राविधिक शिक्षामा छोरी–बुहारीको सहभागिता बढाउन, छोरी–बुहारीलाई आत्मनिर्भर बनाउन र प्रदेशमा सीपयुक्त जनशक्तिको अभावलाई कम गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा कार्यविधिअनुसार सञ्चालन हुँदै आएको छ।
छनोट भएकालाई अध्ययन अवधिभर सरकारले एक पटकमा रु ५० हजार दिने गरेको छ। कार्यक्रमको प्रभावकारितामाथि अध्ययन गरेर प्रतिवेदनसमेत तयार पारिएको र छात्रवृत्ति पाएका छोरी–बुहारी रोजगारीमा संलग्न रहेको निर्देशनालयले जनाएको छ।
हाल कर्णालीका नौ जिल्लाबाट १०–१० जना र सुर्खेतबाट २० जना छोरी–बुहारीले प्रत्येक वर्ष छात्रवृत्ति पाइरहेका छन्। कार्यविधिअनुसार छात्रवृत्ति रकम रु २४ हजारदेखि रु एक लाखसम्म दिने गरिएको छ। छात्रवृत्ति जिल्लाको जनसङ्ख्या र भूगोलको आधारमा कोटा निर्धारण गरिएको बताउँदै निर्देशक हमालले सरकारको आर्थिक क्षमताले भ्याएसम्म यो रकम वृद्धि गरी सबै इच्छुक छोरी–बुहारीलाई समेट्न सके कार्यक्रमको उद्देश्य अझ प्रभावकारीरूपमा पुरा हुने बताइन्।
प्रदेश सरकारले सुरूको आर्थिक वर्षमा कार्यक्रम कार्यान्वयनका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरेकामा रु एक करोड ३२ लाख ८८ हजार खर्च भएको थियो। उक्त आर्थिक वर्षमा १५० छोरी र बुहारी छात्रवृत्तिमा समेटिएका थिए। त्यसको पछिल्लो आर्थिक वर्ष २०७६÷७७ मा प्रदेशभर ११० छोरी र बुुहारीले छात्रवृत्ति पाए। सो आर्थिक वर्षमा सरकारले रु एक करोड बजेट छुट्याएको थियो। त्यसमध्ये रु ७६ लाख १६ हजार ८०० कार्यान्वयन भएको थियो।
हरेक वर्ष सञ्चालन भइरहेको कार्यक्रमले यस पटक पनि निरन्तरता पाएको छ। चालु आर्थिक वर्ष २०८१÷८२ को छात्रवृत्ति रकम पनि वितरण भइसकेको प्रशासन, योजना तथा अनुगमन शाखाका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पाण्डेले जानकारी दिए। यस वर्ष सुर्खेतमा मात्र रु १५ लाख ४६ हजार छात्रवृत्तिमा खर्च भइसकेको छ।
कार्यक्रम लागु भएदेखि हालसम्म छात्रवृत्ति पाउनेमा उच्च शिक्षा प्राविधिक तर्फ २०८, सीमान्तकृत तर्फ छ जना, उच्च शिक्षा अपाङ्गता तर्फ १४५ र उच्च शिक्षा दलित तर्फ २४६, आन्दोलन र जनयुद्धका सहिदका लागि उच्च शिक्षा छात्रवृत्ति पाँच तथा जेहेन्दार छात्रवृत्ति २० जनाले पाप्त गरेका छन्।