नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको छ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको सिफारिस समितिको सिफारिसका आधारमा तीन जनामध्येबाट डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय भएको उनले बताए।
सिफारिस समितिले डा. विश्वनाथ पौडेल, राष्ट्र बैंकका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा. दिनेश भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेको थियो।