४ जेष्ठ २०८२ , आईतवार

लहानमा पाठेघरको मुखको क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि निःशुल्क शिविर

News
४ जेष्ठ, सिरहा, ।

 यहाँको लहान नगरपालिका स्वास्थ्य शाखाले पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि निःशुल्क ‘प्रजनन स्वास्थ्य रुग्णता एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिविर’ सञ्चालन गरेको छ। शिविरबाट दुई सय ५५ जना लाभान्वित भएका छन्।

नगरपालिकाले उत्तरी भेगको दुर्गम क्षेत्रमा पर्ने वडा नं १७ र २४ मा गत बुधबारदेखि सञ्चालन गरेको स्वास्थ्य शिविरबाट ३० वर्षदेखि ५५ वर्ष उमेर समूहका महिलाको पाठेघरको परीक्षण गरिएको नगरको स्वास्थ्य शाखाका प्रमुख रीता यादवले जानकारी दिइन्। उनका अनुसार स्वास्थ्य परीक्षणको क्रममा दुवै वडाका पाँच जनामा ‘पोजेटिभ रिर्पोट’ आएको छ।

शिविरमा जाँच गराउन आउनुभएका महिलामा क्यान्सरको पहिचान, अवस्थाको पूर्व जानकारी, उपचार विधिलगायत विषयमा सचेत गराउने र समस्या देखिएमा थप उपचारका लागि लहान नगरपालिकाले व्यवस्था गर्नेगरी शिविर सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखाका प्रमुख यादवले जानकारी दिइन्।

उहाँले भनिन्, “जोखिम काम, पौष्टिक आहारको कमी, समयमा उपचार गराउन नसक्दा क्यान्सरबाट पीडित भई मृत्युसमेत हुनसक्ने अवस्थाबाट बचाउन शिविर प्रभावकारी हुने अपेक्षा लिएका छौँ।” यादवका अनुसार परीक्षणका क्रममा ‘पोजेटिभ रिर्पोट’ आएका पाँच जनाको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

पाठेघरको मुखमा हुने क्यान्सरलाई सङ्घीय सरकारले प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएकाले सोही अनुरुप शिविर सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत तेजकुमारी श्रेष्ठले बताइन्। शिविरमा ‘भिआइए टेष्ट’ विधिबाट एक मिनेटमा परीक्षण नतिजा आउने भएकाले यो विधि प्रभावकारी बन्दै गएको उनले उल्लेख गरिन्। उनले ‘पोजेटिभ रिर्पोट’ आएका महिलालाई निगरानीमा राखेर थप उपचारको व्यवस्थापन गरिने जानकारी दिइन्।

आर्थिक अवस्था कमजोर भएका, दलित समुदायका महिला पाठेघरको समस्याले पीडित रहेका भन्दै उपचार गराउन नसकिरहेको अवस्थामा यो शिविर प्रभावकारी भएको नगरप्रमुख महेशप्रसाद चौधरीले बताए। उनले आगामी दिनमा क्रमशः लहानका २४ वटै वडामा यसकिसिमका शिविर आयोजना गरिने जानकारी दिए।

नगरभित्रका दलित, विपन्न बस्तीका गर्भवती तथा सुत्केरीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर प्रत्येक महिनाको २२ गते ‘पोषण योजना’ अन्तर्गत पोषणयुक्त खाद्यान्न वितरण कार्यलाई निरन्तरता दिइँदै आइएको नगरप्रमुख चौधरीले जानकारी दिए।