३० बैशाख २०८२ , मंगलवार

पर्यटकको रोजाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, थोरै क्षेत्रफलमा धेरै वन्यजन्तु

News
२८ बैशाख, महेन्द्रनगर।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारै पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। शान्त वातावरण, ठूलो घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै वन्यजन्तु हेर्न मिल्ने भएकाले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा शुक्लाफाँटा पर्न थालेको हो।

निकुञ्जको प्रवेशद्वारबाट २४ किलोमिटरको दूरीमा शुक्लाफाँटामा ठूलो घाँसे मैदान (फाँट) छ, जुन विश्वकै ठूलो घाँसे मैदानमध्ये एक हो। ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज बाह्रसिङ्गाका लागि प्रख्यात छ। उक्त फाँटमा एकैपटक सयौं बाह्रसिङ्गाको झुण्ड देख्न सकिन्छ। यहाँ घुम्न आउने आगन्तुकहरूलाई फाँटामा बाह्रसिङ्गाले स्वागत गर्छन्। बाह्रसिंगाको टाउकामा सिङका छ-छ वटा हाँगा हुन्छन्। आँखै अगाडि देखिने बाह्रसिङ्गाको झुण्डले यहाँ आउने आगन्तुकको मन लोभ्याउँछ।

शुक्लाफाँटाको विशाल घाँसेमैदानमा मयूर नाचेको दृश्यले आगन्तुकको मनै लोभ्याउँछ। उक्त फाँटमा पाटेबाघको दृश्यसमेत देख्न सकिन्छ। शुक्लाफाँटाको पूर्वीतर्फ बग्ने चौधर खोला, बर्कौला र फाँटा पाटेबाघ देखिने ठाउँ हुन्। सोही फाँटमा राजा महेन्द्रले २०२४ सालमा सिकार खेलेका र हालको दुधिया क्याम्प भन्ने ठाउँमा एक रात बास बसेको बताइन्छ।

फागुनदेखि असारसम्म शुक्लाफाँटा घुम्ने मुख्य समय हो। वसन्त ऋतुमा यहाँ फुल्ने रङ्गीविरङ्गी फूलले आगन्तुकलाई स्वर्गको आभास दिलाउँछ। निकुञ्जभित्र अन्य साना-ठूला धेरै फाँटाहरू छन्, जहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ। निकुञ्जको पूर्वी क्षेत्रमा हिरापुर फाँटा छ, त्यहाँ कृष्णसार संरक्षण गरिएको छ। निकुञ्ज प्रवेश गर्ने दुई वटा बाटा छन्। एउटा रानीताल भएर फाँटा पुगिन्छ भने अर्को बर्काेलाको बाटो। फाँटमा पर्यटकका लागि काठका चार वटा मचान बनाइएका छन्। ती मचानहरूबाट पर्यटकले शुक्लाफाँटाको दृश्य अवलोकन गर्न र तस्वीर लिन सक्नेछन्।

निकुञ्जभित्रै रानी ताल छ। त्यहाँ रानी ताल सँगसँगै अन्य साना-ठूला तालहरू पनि छन्। त्यहाँ प्रशस्त रूपमा गोही र चराचुरूङ्गीहरू देख्न पाइन्छ। जानकारहरूका अनुसार सिंहपाल राजाका रानीहरूले नुहाउने ताल भएकाले उक्त तालको नामकरण रानी ताल राखिएको हो। वन्यजन्तु मात्रै नभई दुर्लभ वनस्पतिका लागि पनि शुक्लाफाँटा प्रख्यात छ। निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु, २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली र ४४९ भन्दा बढी प्रजातिका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ। विश्वमै दुर्लभ मानिएका सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भुँडीफोरजस्ता वन्यजन्तु पनि यहाँ पाइन्छन्।

स्तनधारी वन्यजन्तुमा पाटेबाघ, एकसिङ्गे गैंडा, हात्ती, बाह्रसिङ्गा, कृष्णसार, सालक, नीलगाई, चितुवा, चितल, लगुना, रतुवा, हिसपिड खरायो र बँदेल लगायत ५३ भन्दा बढी प्रजातिहरू रहेका छन्। त्यसैगरी २५ वटा जङ्गली हात्ती, १६ वटा एकसिङ्गे गैंडा र ४२ वटा पाटेबाघ रहेको बताइन्छ। शुक्लाफाँटाको छेउ पिपरियामा रहेको हात्तीसारमा हात्ती चढ्न पाइन्छ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्ले पछिल्लो समय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउँछन्। चालु आर्थिक वर्षको कात्तिकदेखि चैत्र मसान्तसम्म शुक्लाफाँटामा दुई हजार ३८८ विदेशी र दुई हजार १८१ जना नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेको उनले बताए। सबैभन्दा बढी फ्रान्स र स्पेनका पर्यटक यहाँ घुम्न आउँछन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइड विष्णुप्रसाद पनेरु फाँटामा एकै ठाउँमा विभिन्न प्रजातिका चरा, बाह्रसिङ्गा, बाघ र गैँडालगायत दुर्लभ वन्यजन्तु देखिँदा विदेशीहरू धेरै खुसी हुने गरेको बताउँछन्। शुक्लाफाँटा पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएकाले ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको स्थानीय रमेश पन्त बताउँछन्। "यहाँबाट भारतका ठूला सहरहरू धेरै नजिक भएकाले त्यहाँ आउने पर्यटकहरूलाई आकर्षण गर्न सकिन्छ। शुक्लाफाँटा मात्रै नभई नजिकै रहेको दोधारा चाँदनी झोलुङ्गे पुल, झिलमीला ताल लगायतका सहायक गन्तव्य पनि छन्," उनले भने, "राज्यस्तरबाट पूर्वाधार विकासमा जोड दिनुपर्छ।" पछिल्लो समय पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्यासमेत बढ्दै गएकाले पर्यटकहरूको सहजताका लागि तीनवटै तहका सरकारले लाग्नुपर्ने उनको भनाइ छ।