२२ बैशाख २०८२ , सोमबार

दार्चुलामा नेपाली भूमिमा भारतीय तटबन्ध निर्माणको विरोध, तत्काल रोक्न माग

News
२० बैशाख, काठमाण्डौँ ।

दार्चुला सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेको भन्दै स्थानीय राजनीतिक दल तथा बासिन्दाले विरोध जनाएका छन्।

विसं २०७० को बाढीपछि भारततर्फ परेको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरिरहेको छ। यस विषयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै तत्काल कूटनीतिक पहल थाल्नुपर्ने माग गरेको छ।

महाकाली नगरपालिका–४ र ५ भएर बग्ने महाकाली नदी किनारमा छिमेकी भारतले नेपाली भूमिमा तटबन्ध निर्माण गरिरहेको छ। एमाले जिल्ला कमिटीका अध्यक्ष ज्ञानेन्द्र घर्तीले नदीको धार नै परिवर्तन हुनेगरी तटबन्ध निर्माण जारी रहेकाले त्यसलाई रोक्न प्रमुख जिल्ला अधिकारी अनिल पौडेलमार्फत परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइएको बताए।

घर्तीले महाकाली नदीको गल्फैपारि र खुलामञ्चपारिको क्षेत्रमा अन्तरराष्ट्रिय सीमारेखा मिचेर तटबन्ध निर्माण भइरहेको जानकारी दिँदै त्यसलाई रोक्न माग गरे।

प्रमुख जिल्ला अधिकारी पौडेलले तटबन्धका सम्बन्धमा तत्काल कूटनीतिक पहल थाल्न आफूले पत्राचार गरेको जानकारी दिए। उनले आफू निरन्तर भारतीय समकक्षीहरूसँग सम्पर्कमा रहेको र निर्माण रोक्न आग्रह गरेको बताए।