१७ जेष्ठ २०८२ , शनिबार

नेपाल-भारत विज्ञबीच कुखुरापालन व्यवसायबारे छलफल

News
१६ जेष्ठ, काठमाण्डौँ ।

नेपाल र भारतका विज्ञहरुबीच कुखुरापालन व्यवसायबारे छलफल भएको छ । यहाँ आयोजित ‘सुदृढ पोल्ट्री उद्योग र दिगो विकास तथा आर्थिक सफलता’ विषयमा छलफल गरिएको हो ।

भारतको पोल्ट्री रिभ्यू र नेपाल भेटेनरी पोल्ट्री एसोसिएसनको संयुक्त आयोजनामा भएको गोष्ठीमा नेपाल र भारतका सात विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा डा सुविर सिंहका अनुसार भारतका पाँच र नेपालका दुई पोल्ट्री क्षेत्रमा विशेषज्ञता हासिल गरेका विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाल र भारतका १०३ वैज्ञानिक, उद्यमी, शिक्षाविद् र नीति निर्माता सहभागी भएको उक्त कार्यक्रममा ‘नेपालमा पोल्ट्री उद्योगः अनिश्चिचताबीचको सम्भावना’ विषयमा डा दिनेश गौतम र प्रा डा सिंहले नेपालको पोल्ट्री व्यवसायका अवसर र चुनौतीबारे विश्लेषण गरेका थिए ।

सो अवसरमा प्रा डा ए एस राणादेले वातावरणमैत्री फिड प्रविधिको विकास र प्रभावका बारेमा प्रकाश पारेका थिए । डा विजयकुमार श्रेष्ठ र प्रा डा रेवन्तकुमार भट्टराईले सङ्क्रामक रोगको प्रकोप व्यवस्थापन विषयमा पोल्ट्री क्षेत्रमा देखापर्ने रोग र तिनको रोकथाम तथा नियन्त्रण रणनीतिबारे जानकारी गराए।

यस्तै डा सन्तोष एम आइरेले पोल्ट्री फार्महरुमा स्वस्थ पानी व्यवस्थापनको महत्वबारे चर्चा गरेका थिए । भारतको सेपिएन्स ग्रुपका प्रशान्त कुमारले प्रविधिको प्रयोगबाट पोल्ट्रीजन्य उत्पादन र व्यवस्थापन कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा विहार पोल्ट्री किसान महासङ्घका डा पवनकुमारले विहार राज्यको पोल्ट्री व्यवसायमा भइरहेका अभ्यासबारे अनुभव सुनाए। सो अवसरमा नेपाल र भारतको सहकार्यको सम्भावना, नीति समन्वय, प्रविधि हस्तान्तरण, संयुक्त अनुसन्धानको आवश्यकता र सम्भावनाबारे समूहगत छलफल गरिएको थियो ।

पोल्ट्री उद्योगमा विश्वभर भएका गुणस्तरीय सुधारका अभ्यासका बारेमा छलफल भएको प्रा डा सिंहले बताए। उनले भने, “कार्यपत्र र छलफलले विशेषज्ञहरुका बीचमा ज्ञान, सीप र अनुभव आदानप्रदान गराएको छ।” भारतीय सीमा क्षेत्रमा पोल्ट्रीजन्य सामग्री आयात निर्यातमा देखापरेका समस्या समाधान गर्न छलफल सहयोगी बनेको उनको भनाइ छ ।

कार्यक्रममा पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट, पोल्ट्री इण्डियाका अध्यक्ष उदयसिंह बायस, कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा आइपी ढकाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।