२५ जेष्ठ २०८२ , आईतवार

बाँके राष्ट्रिय निकुञ्जमा चार सयभन्दा बढी पर्यटकले अवलोकन

News
१२ जेष्ठ, काठमाण्डौँ ।

बाँके राष्ट्रिय निकुञ्जमा चार सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन र वन्यजन्तुको दृश्यावलोकन गरेका छन्।

निकुञ्ज मध्यवर्ती क्षेत्रमा सञ्चालित घरबास कार्यक्रममार्फत गत साउनदेखि हालसम्म आन्तरिक तथा बाह्य पर्यटक गरी चार सय ३० जनाले निकुञ्ज अवलोकन तथा दृश्यावलोकन गरेको बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मन्दीप पङ्गेनीले जानकारी दिए। यी पर्यटकमध्ये सबैभन्दा बढी मङ्सिरमा ८२ र सबैभन्दा कम साउनमा १२ जना यहाँ आएका छन्। ती पर्यटकमध्ये विदेशी पर्यटक अर्थात् सार्क राष्ट्रका २१ जना मात्र पर्यटक रहेका छन्।

निकुञ्जका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बाघ संरक्षणमा सफलता हासिल गरे पनि पर्यापर्यटनको विकास हुन नसकेको बताए। निकुञ्जले दुई सय किलोमिटर वन पथ निर्माण, घाँसेमैदान र कृत्रिम पानी पोखरीको व्यवस्थासँगै आहारा प्रजातिको सङ्ख्या वृद्धि गरेको उनको भनाइ छ।

सन् २०२२ को सर्वेक्षणअनुसार बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बयस्क बाघ रहेका छन्। निकुञ्जमा अन्य संरक्षित क्षेत्रहरूमा नपाइने लोपोन्मुख वन्यजन्तु चौका पनि धेरै सङ्ख्यामा देखिन थालेका छन्।