नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज झिनो अङ्कको सुधार देखिएको छ। कारोबारको अन्त्यमा नेप्से परिसूचक १.५२ अङ्कले बढ्दै २,६४१.४३ विन्दुमा कायम भएको हो।
आज ३२० कम्पनीको एक करोड २५ लाख चार हजार ९७० कित्ता शेयर ७२ हजार ६७१ पटक खरिदबिक्री हुँदा कुल छ अर्ब २० करोड ९४ लाख ३८ हजार ९०६ रुपैयाँ ३७ पैसाको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा विकास बैंक समूह ०.०१, वित्त २.५५, होटल तथा पर्यटन ०.३१, जलविद्युत् ०.०७, लगानी ०.११, म्युचुअल फन्ड ०.०८, निर्जीवन बिमा ०.३८ र व्यापार समूह ०.६७ प्रतिशतले बढेका छन्। बाँकी सबै समूहका उपसूचक घटेका छन्।
बैंकिङ समूह ०.०८, जीवन बिमा ०.०१, उत्पादन तथा प्रशोधन ०.४१, लघुवित्त ०.०५ र अन्य समूह ०.१३ प्रतिशतले घटेका छन्।
कम्पनीगत रूपमा आज सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९.९४ प्रतिशतले वृद्धि भएको छ। विपरीत रूपमा आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८८ को मूल्य ३.३० प्रतिशतले घट्दै सर्वाधिक गिरावट देखिएको छ।
कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रहँदै २६ करोड २४ लाख चार हजार १८४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यसैगरी कारोबार भएका शेयर सङ्ख्याका आधारमा दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको सबैभन्दा बढी छ लाख ७१ हजार ११८ कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ।