१९ जेष्ठ २०८२ , सोमबार

महाकाली करिडोर: सुदूरपश्चिमको समृद्धिको ढोका खुल्ने आशा

News
१७ जेष्ठ, काठमाण्डौँ ।

नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिङ्करसम्म महाकाली करिडोर निर्माण भएपछि व्यापारिक ढोका खुल्ने र रोजगारीका अवसर सिर्जना हुनेमा स्थानीय आशावादी छन्।

दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ डाँडाकोटका नरेश अवस्थीका अनुसार महाकाली करिडोर त्रिदेशीय नाका बन्ने र सुदूरपश्चिम व्यापारिक केन्द्रको रूपमा विकास हुनेछ। लामो समय शिक्षण पेशामा बिताएका र हाल कृषिमा संलग्न अवस्थीले भारतसँगको सहज पहुँच नहुँदा सुदूरपश्चिमले आर्थिक लाभ लिन नसकेको बताए। "महाकाली करिडोर निर्माणपछि सुदूरपश्चिम मात्र नभई मुलुककै आर्थिक विकासमा कोसेढुङ्गा सावित हुने अपेक्षा गरेका छौँ," उनले भने, "सुदूरपश्चिम आर्थिक गतिविधिमा न्यून छ, हाम्रो लागि सम्भावना भनेकै महाकाली करिडोर हो, यसलाई राज्यले प्राथमिकताका साथ अगाडि बढाओस्।"

दार्चुलाको तिङ्करदेखि कञ्चनपुरको ब्रह्मदेवसम्म महाकाली नदीको किनारै किनार निर्माण हुने करिडोरले यहाँको सामाजिक, आर्थिक क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ।

भारतका ठूला आर्थिक गतिविधि र जनसङ्ख्या भएका औद्योगिक सहरसँग नजिकबाट जोडिनुका साथै उत्तरतिर चीनको सीमासम्म पुग्न पनि यो करिडोरले सहज बनाउनेछ।

महाकाली करिडोर निर्माण भएपछि कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली किनारैकिनार छोटो दूरीमा यात्रा गर्न सकिने स्थानीयको अपेक्षा छ। यसले महाकाली किनारका बस्तीलाई सडक सञ्जालमा जोड्ने र लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता हट्ने मालिकार्जुन गाउँपालिका–५ का वडा अध्यक्ष मदन चन्दले बताए। "करिडोर सञ्चालनमा आए यहाँका जनतालाई धेरै फाइदा हुन्थ्यो," चन्दले भने, "यहाँबाट कञ्चनपुर घुमाउरो बाटो भएर आवतजावत गर्नुपर्ने बाध्यताबाट मुक्ति पाइन्छ।" महाकाली करिडोर सञ्चालनमा आए सुदूर पहाडका जनताको आर्थिक अवस्थामा समेत सुधार आउने उनको भनाइ छ।

दार्चुलाको लेकम गाउँपालिकाका स्थानीय कोमल विष्टले ब्रह्मदेवदेखि महाकाली किनार हुँदै डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्कर नाकासम्म यातायातको सहज पहुँच विस्तार गरी सुदूरपश्चिम प्रदेश तथा मुलुकको विकासमा कोसेढुङ्गा सावित हुने बताए। "करिडोर निर्माणपछि आर्थिक हिसाबले सुदूरपश्चिमलाई फाइदा हुन्छ नै, यसले धार्मिक पर्यटनको सम्भावना पनि बढाउँछ," उनले भने, "सजह आवागमन र आर्थिक गतिविधि बढाउन करिडोर प्रमुख आधार हो।" करिडोर बनेपछि कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुराको जोगबुढा, बैतडीको पञ्चेश्वर, चमेलिया, दार्चुलाको लाली, उकू, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हुँदै तिङ्कर नाकासम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय साथै शैक्षिक विकासमा योगदान पुर्याउनेछ।

महाकाली करिडोर अन्तर्गत महेन्द्रनगरमा सिद्धवैजनाथ, डडेल्धुरामा परशुरामधाम, बैतडीमा त्रिपुरा सुन्दरी, मेलौली भगवती र निङ्लाशैनी जस्ता प्रसिद्ध धार्मिकस्थल रहेका छन्। त्यसैगरी दार्चुलामा राष्ट्रकै चौथो धामका रूपमा परिचित मालिकार्जुन धामजस्ता प्रसिद्ध धार्मिकस्थल रहेकाले करिडोरले धार्मिक पर्यटनमा समेत टेवा पुग्ने पर्यटन व्यवसायी बताउँछन्। "महाकाली करिडोर बने मात्रै सुदूरको विकासको ढोका खुल्छ," यहाँका पर्यटन व्यवसायी जगदीश चन्द्र भट्टले भने, "यसले धार्मिक पर्यटनलाई समेत फाइदा पुग्छ, अर्कोतर्फ उत्तरतर्फ चीनसँग पनि व्यापारको ढोका खुल्छ।"

कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म ३३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको महाकाली करिडोर सडक योजना कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी रामचन्द्र जैशीका अनुसार हालसम्म करिडोरको २३० किलोमिटर ट्र्याक खुलेको छ।

योजनाका लागि चालु आर्थिक वर्षमा रु ४१ करोड ५० लाख बजेट विनियोजन भएको सूचना अधिकारी जोशीले बताए। "बजेट अभावका कारण निर्माण व्यवसायीलाई भुक्तानी दिनसमेत समस्या भएको छ, चालु आर्थिक वर्षमा आएको बजेटमध्ये १७ करोड गत आवको भुक्तानी दायित्व थियो," उनले भने, "न्यून बजेट र रुख कटानलगायत प्रक्रियागत अल्झनका कारण निर्माणमा ढिलाइ भइरहेको छ।"

सुदूरपश्चिम प्रदेशका चार जिल्ला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सीमामा रहेको पिल्लर नं १ सम्म निर्माण हुने यस सडक योजनाबाट उक्त क्षेत्रमा बसोबास गर्ने करिब एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने सरकारको अपेक्षा छ।