डडेल्धुराको परशुराम नगरपालिका-४, कटालस्थित भागेश्वर माध्यमिक विद्यालय परिसरमा रहेको स्तम्भमा चट्याङ पर्दा क्षति पुगेको छ । बिहीबार साँझ करिब साढे सात बजेतिर भीषण हावाहुरी र मेघगर्जनसहित परेको चट्याङले स्तम्भको माथिल्लो भाग भत्काएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल (डाइमण्ड) का अनुसार चट्याङले विद्यालयले आफ्नो स्वर्ण जयन्ती (५०औँ वार्षिकोत्सव) को अवसरमा केही महिनाअघि मात्र निर्माण सम्पन्न गरेको ५० फिट अग्लो ‘स्वर्ण स्तम्भ’ मा क्षति पुर्याएको छ । चट्याङ स्तम्भको माथिल्लो भागमा परेको थियो, जसले गर्दा करिब ५ फिट जतिको हिस्सा भत्किएको छ । स्तम्भको टुप्पोमा मन्दिर शैलीको सानो संरचना बनाइएको थियो ।
“साँझ हावाहुरी आयो, आकाश गर्जिरहेको थियो, त्यही बेला ठ्याक्क माथि चट्याङ पर्यो,” अध्यक्ष डाइमण्डले युगसूत्रसँग कुरा गर्दै भने, “त्यसले स्तम्भको माथिल्लो भाग मात्र फालेन, विस्फोट जस्तै भएर कंक्रिटका टुक्राहरु उछिट्टिएर १०० मिटर परसम्म पुगेका छन् ।” उनका अनुसार उछिट्टिएका टुक्राले विद्यालयको एउटा कक्षाकोठाको बरन्डामा समेत क्षति पुर्याएको छ ।
घटना साँझको समयमा भएकाले मानवीय क्षति भने हुन नपाएको अध्यक्ष मालले बताए । “भाग्यवश मानवीय क्षति हुन पाएन, ठूलै बम विस्फोट भएजस्तो भएको थियो,” उनले भने ।
विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पुगेको अवसरमा यो स्वर्ण स्तम्भ हालै मात्र निर्माण गरेको थियो । चट्याङले भर्खरै निर्मित महत्वपूर्ण संरचनामा क्षति पुर्याएको छ । क्षतिको विस्तृत विवरण संकलन भइरहेको विद्यालयले जनाएको छ