२६ जेष्ठ २०८२ , सोमबार

कञ्चनपुरका सात वटा वडा विपद् सङ्कटग्रस्त क्षेत्र घोषित

News
७ जेष्ठ, कञ्चनपुर ।

सरकारले कञ्चनपुर जिल्लाका सात वटा वडालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले भीमदत्त नगरपालिकाका वडा नम्बर ११, १२, १३ र दोधारा चाँदनी नगरपालिकाका वडा नम्बर ३, ८, ९ र १० लाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । यो घोषणा तीन महिनाका लागि लागू हुनेछ ।

गत वर्ष महाकाली नदीमा आएको बाढीले पुलको गाइडबन्ड (बाँध) भत्काएको थियो । समयमै पुनर्निर्माण नहुँदा महाकाली पुल, पहुँच मार्ग र आसपासका बस्ती जोखिममा परेकाले जिल्ला विपद् व्यवस्थापन समितिले ती क्षेत्रलाई विपद् सङ्कटग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भए पनि कसरी काम गर्ने भन्नेबारे माथिल्लो निकायबाट कुनै जानकारी नआएको बताए ।

भीमदत्त नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष भूपेन्द्रसिंह रावलले नेपाली सेनाले काम गर्ने जानकारी पाएको बताए । "यहाँ बाढीको धेरै जोखिम छ र स्थानीयले बाँध निर्माणका लागि पटकपटक आन्दोलन गरेका छन्," उनले भने ।

उल्लेखनीय छ, भत्किएको गाइडबन्ड पुनर्निर्माणको काम डिजाइन भेरिएसन नहुँदा रोकिएको छ । सुरुमा ठूलो ढुङ्गा प्रयोग गर्ने डिजाइन भए पनि ढुङ्गा नपाएपछि कंक्रिट र तारजालीमा ढुङ्गा भरेर बाँध बनाउने नयाँ डिजाइन बनाइएको थियो । तर, डिजाइन स्वीकृत भएर पनि भेरिएसन नहुँदा समस्या भएको छ ।

निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफइसी जेभीका इन्जिनियर किशोर पाण्डेले भेरिएसन नभएका कारण काम गर्न नपाएको र ठेक्का तोड्ने तयारीमा रहेको बताए ।

महाकाली नदीमा निर्माणाधीन आठ सय मिटर लामो पुलको ९५ प्रतिशत काम सकिएको छ । अब दुई सय मिटर पहुँचमार्ग कालोपत्रे र गाइडबन्डको काम मात्र बाँकी छ । तीन अर्ब २७ करोडको लागतमा २०७४ सालमा सुरु भएको यो परियोजना तीन वर्षमा सक्ने लक्ष्य राखिएको थियो ।