२२ बैशाख २०८२ , सोमबार

कञ्चनपुरमा व्यावसायिक कृषिमा ड्रोनको प्रयोग, कृषकको करोडौंको लगानी

News
१६ बैशाख, काठमाण्डौँ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–६ का कृषक आसरेराम वडायकले व्यावसायिक कृषिमा करोडौं रुपैयाँ लगानी गरेका छन्। १० वर्षअघि वैदेशिक रोजगारीमा जाने योजना बनाएका वडायक काठमाडौंमा टमाटर खेती देखेर स्वदेशमै कृषि गर्ने योजना बनाएर फर्किएका थिए।

काठमाडौंको एक ‘पोलिहाउस’मा टमाटर खेती देखेपछि उनी विदेश जाने योजना त्यागेर स्वदेशमै खेती गर्ने निर्णयमा पुगेका हुन्। वडायकले भने, “काठमाडौँबाट फर्किएपछि सुरुमा आधा कट्ठा जमिनमा तीनवटा पोलिहाउस बनाएर टमाटरखेती गरेँ। खेतीबाट फाइदा नभएपछि तालिम लिएर खेती गर्छु भनेर भारतको पन्तनगर गएर दुई दिनको तालिम लिएँ।”

तालिमपछि खेतीमा लागेका वडायकले हाल वार्षिक रु २६ लाखसम्म आम्दानी गर्छन्। उनले आफ्नो र भाडामा गरी नौ बिघा जग्गामा उखु, तोरी, मुसुरो र धानखेती गर्दै आएका छन्। वडायकले खेती विस्तार गरेर वार्षिक रु एक करोडसम्म कमाउने लक्ष्य राखेको बताए।

कृषिमा आधुनिक प्रविधिको प्रयोग गर्दै वडायकले हालसम्म खेतीबाट प्राप्त आम्दानीले रु एक करोडभन्दा बढी मूल्यका कृषियन्त्रहरू खरिद गरेका छन्। उनले गत वर्ष मात्रै रु १० लाखमा ड्रोन खरिद गरेको बताए। ड्रोनको प्रयोगबाट खेती गर्दा लागत कम हुनाका साथै उत्पादन समेत वृद्धि भएको उनको भनाइ छ।

भारतका विभिन्न शहरमा व्यावसायिक खेतीको तालिम लिएका वडायकका अनुसार ड्रोनले बीउबिजन र विषादी छर्कने काम मानिसले भन्दा धेरै छिटो गर्छ। उनले भने, “ड्रोनको प्रयोगले विषादी छर्किंदा मानिसले भन्दा राम्रो छर्किने र किसानको स्वास्थ्यमा विषादीले पनि असर गर्दैन।”

ड्रोनको प्रयोगले बीउबिजन र विषादी छर्किंदा थोरै लागतमा धेरै काम गर्न सकिने उनले बताए। उनलाई खेतीमा परिवारका सदस्यहरूले समेत सहयोग गरेका छन्। उनले ‘सिजन’को बेला ३० देखि ४० जनालाई रोजगारी दिने गरेका छन्।

वडायकले प्राविधिक कुरामा मात्रै ध्यान दिन सके राम्रो उत्पादन हुने बताए। उनले उत्पादन गर्न सके बजारको समस्या भने नरहेको जानकारी दिए। वडायक गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट प्रदेशकै सर्वोत्कृष्ट कृषकका रुपमा सम्मानित भएका थिए। उनी भीमदत्त नगरपालिकाको उत्कृष्ट किसानबाट समेत सम्मानित भइसकेका छन्।

उनले भने, “अहिले खेती गर्न थप सजिलो होस् भनेर मोबाइल ‘एप लन्च’ गर्ने तयारीमा छु। त्यो एपबाट कुन समयमा मल हाल्ने, कुन रोगबाट कसरी बच्नेलगायतका पूर्वजानकारी पाउन सकिन्छ।”

पछिल्लो समय कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ। किसानहरूले परम्परागत रुपमा गोरु र राँगा प्रयोग गरी जोत्ने ठाउँमा ट्याक्टर, मिनिटिलर, पावर टिलरको प्रयोग गर्न थालेका छन् भने बाली काट्न र पिस्न प्रविधिको प्रयोग गरिरहेका छन्।