३ कार्तिक २०८२ , सोमबार

सागसब्जी खेतीबाट कैलालीका नारायणको परिवारको समृद्धि, सिँचाइ आयोजनाको सहयोग

News
२७ असार, काठमाण्डौँ ।

कैलालीका जानकी गाउँपालिका–५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको स्रोत सागसब्जी खेती हो। बाइस वर्षअघि उनका पिताले थालेको सागसब्जी खेतीलाई उनले व्यावसायिक रूपमा अघि बढाएका छन्। रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई खेतीमा हौसला मात्र होइन व्यावसायिक बन्न सघाएको छ। आयोजनाको सहयोग पाएका किसान खेतीमा प्रविधि र नयाँ सीप सिकेर व्यावसायिक बनेका छन्।

सागसब्जी खेतीमा भविष्य र कमाइ देखेर व्यावसायिक खेती गरिरहेका खप्तड पशुपन्छी तथा कृषि फार्मका सञ्चालक नारायणलाई सिँचाइ आयोजनाको सहयोगले पेसामा टिकिरहन सहज बनाइदिएको छ। उनले तीन बिघामा गोलभेँडा, आलु र लहरे सागसब्जी लगाएका छन्। “तीस लाख लगानी गरेको हुँ, वार्षिक एक हजार क्विन्टल उत्पादन हुने गरेको छ। सबै खर्च कटाएर मासिक रु एक लाख पचास हजारदेखि दुई लाखसम्म बचत हुन्छ”, किसान जोशीले भने। उनको पाँच जनाको परिवार सागसब्जी खेतीमा रमाएको छ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई बीउबिजन, नयाँ प्रविधिमा अनुदान सहयोग गर्न थालेपछि किसानहरु व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन्। सिँचाइ आयोजनाका कृषि अधिकृत आकृति ठाकुर बाली संरक्षणका लागि खेती गर्नुपूर्व माटोदेखि नै सचेत हुनुपर्नेमा जोड दिन्छन्। सिँचाइ आयोजनाका प्रमुख भरत कँडेल आयोजनाको युवा किसानलाई कृषिमा प्रेरित गर्ने नीति भएको बताउँछन्।

सागसब्जीखेतीलाई पेशा बनाएर युवा पुस्तालाई पनि त्यसमा नै रमाउन अभिप्रेरित गरेका किसान नारायणका बुबा प्रेमप्रसाद जोशीलाई दुई साताअघि राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कृत गरेका थिए।