२२ बैशाख २०८२ , सोमबार

युरेनियम संवर्द्धन गर्ने अधिकारको इरानद्वारा बचाउ, आणविक हतियार नबनाउने दाबी

News
२० बैशाख, काठमाण्डौँ ।

इरानले युरेनियम संवर्द्धन गर्ने आफ्नो अधिकार रहेको भन्दै शनिबार आफ्नो बचाउ गरेको छ। संयुक्त राज्य अमेरिकासँगको वार्तामा ढिलाइ भइरहेकाले पश्चिमा मुलुकले तेहरानले आणविक अस्त्रको खोजी गरिरहेको हुन सक्ने चिन्ता व्यक्त गरिरहेका बेला इरानले यस्तो धारणा सार्वजनिक गरेको हो।

इरानका विदेशमन्त्री अब्बास अराघचीले आणविक अप्रसार सन्धि (एनपिटी) मा तेहरानको लामो समयदेखिको सदस्यतालाई उद्धृत गर्दै इरानलाई पूर्ण आणविक इन्धन चक्रको मालिक हुने सबै अधिकार रहेको बताएका छन्।

अराघचीले एनपीटीका धेरै सदस्य राष्ट्रले आणविक अस्त्रलाई पूर्णतया अस्वीकार गरेपनि युरेनियमलाई जम्मा गर्ने अभियानलाई जारी राखेका छन् भने।

एनपीटी अन्तर्गत हस्ताक्षरकर्ता राष्ट्रहरुले आफ्नो आणविक भण्डारको घोषणा गरी संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईएईए) को निगरानीमा राख्नुपर्ने हुन्छ।

संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी देशहरूले लामो समयदेखि इरानले आणविक हतियारको पछि लागेको आरोप लगाउँदै आएका छन् तर तेहरानले यसको आणविक कार्यक्रम केवल नागरिक उद्देश्यका लागि भएको दाबी गर्दै आएको छ।

इरानले हाल युरेनियमलाई ६० प्रतिशत शुद्धतामा संवर्धित गरिरहेको छ, जुन सन् २०१५ मा संयुक्त राज्य अमेरिका र अन्य विश्व शक्तिहरूसँगको सम्झौतामा निर्धारित ३.६७ प्रतिशतको सीमाभन्दा धेरै माथि छ।

सोमबार फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल बारोटले इरान ‘आणविक हतियार प्राप्त गर्ने सँघारमा रहेको’ र तेहरानको गतिविधिले युरोपेली सुरक्षालाई खतरामा पारेमा संयुक्त राष्ट्रसंघका प्रतिबन्धहरू पुनः लागू गर्न सकिने बताएका थिए।

तर इरानले सन् २०१५ को आणविक सम्झौतामा हस्ताक्षर गरेको फ्रान्सको टिप्पणीलाई ‘केवल बेतुकको तर्क’ भन्दै अस्वीकार गरेको छ।

आइएइएका प्रमुख राफेल ग्रोसीले बुधबार इरानबाट ती सामग्रीहरु सजिलै भङ्ग गर्न सकिने वा बाहिर पठाउन सकिने बताएका छन्।

गत महिना इरानी सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले समृद्ध सामग्रीको स्थानान्तरणलाई ‘रातो रेखा’ को संज्ञा दिएका थिए।

इरानले अमेरिकी विज्ञसहित आफ्ना आणविक केन्द्रको निरीक्षण गर्न दिनुपर्ने रुबियोले बताएका छन्।

गत साता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले एउटा विश्वसनीय सम्झौताले ‘आणविक हतियारका लागि युरेनियम संवर्द्धन गर्ने इरानको क्षमता हटाउनुपर्ने’ र इरानको ब्यालेस्टिक क्षेप्यास्त्रको विकासलाई रोक्नु पर्ने बताएका थिए।