२२ बैशाख २०८२ , सोमबार

धनकुटामा बस दुर्घटना हुँदा एकको मृत्यु, तीन गम्भीरसहित १४ घाइते

News
२२ बैशाख, काठमाण्डौँ ।

धरानबाट धनकुटा आउँदै गरेको १ ख २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको छ। दुर्घटनामा परी १४ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

आज बिहान १०ः१५ बजेतिर धनकुटा नगरपालिका–६ गोठगाँउस्थित कोशी लोकमार्गमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस सडकबाट तल खस्दा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार घाइतेमध्ये धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राईको उपचारको क्रममा मृत्यु भएको छ। अन्य घाइतेहरूमा भोजपुरको षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ, सोही स्थानका अनमोल तामाङ, सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का कृष्ण राउत, बस चालक सुनसरीको धरान उपमनपा–१३ का रुद्र तामाङ, भोजपुर पौवादुङमा गाउँपालिका–३ च्याङग्रेका गङ्गाप्रसाद सापकोटा, भोजपुर नगरपालिका–११ का सविना बराइली, सोही ठाउँका देवी टविक, धनकुटाको साँगुरीगढी गापा–६ का हंशबहादुर राई, भोजपुरको षडानन्द नगरपालिका–११ का पुर्णमाया तामाङ, भोजपुर नगरपालिका–११ का लिलाबहादुर श्रेष्ठ, धनकुटा साँगुरीगढी गाउँपालिका–६ का दीर्घमाया राई, इटहरीका आयुष राई र धनकुटा–६ का धनकुमार विक रहेका छन्। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ।