बजारको मागभन्दा उत्पादन बढी भएपछि हेटौँडा दूध वितरण आयोजना कार्यालयको भण्डारणमा समस्या भएको छ। कार्यालयमा मखन र पाउडर दूधको भण्डारण क्षमता भरिन लागेको छ।
कार्यालय प्रमुख अञ्जन अधिकारीका अनुसार, मखन एक लाख ७५ हजार किलो भण्डारण गर्ने क्षमता रहेकामा अहिले एक लाख ७० हजार किलो भण्डारण भइसकेको छ। यस्तै पाउडर पाँच लाख किलो क्षमता रहेकामा हालसम्म चार लाख ५६ हजार किलो भण्डारण भइसकेको छ।
दूध तथा दूधजन्य पदार्थको बजारमा माग घट्दै गएपछि सो कार्यालयले सहुलियत पसल सञ्चालनमा ल्याएको छ। कार्यालयद्वारा उत्पादित दूध तथा दूधजन्य पदार्थको बजार खपत बढाउन र उपभोक्तालाई सहुलियत दरमा बिक्री वितरण गर्ने उद्देश्यले कार्यालय परिसरभित्रै सहुलियत पसल सञ्चालनमा ल्याइएको हो।
प्रमुख अधिकारीका अनुसार उत्पादित वस्तु समयमै बिक्री हुन नसक्दा किसानलाई रु सात करोड भूक्तानी गर्न नसकिएको कार्यालयले जनाएको छ। मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीका किसानबाट दूध खरिद गर्दै आएको उक्त कार्यालयले खरिदभन्दा बजारमा बिक्री कम भएपछि हालसम्म भण्डारण कक्षमा करिब रु एक अर्ब ५० करोड बराबरको दूधजन्य पदार्थ थन्किएको छ।
विसं २०३० वैशाखमा स्थापना भएको उक्त आयोजनालाई अहिले दैनिक १५ हजार लिटर दूध खरिद गर्नुपर्ने बाध्यता छ तर बजारमा अहिले मुस्किलले तीन/चार हजार लिटर दूध मात्र बिक्री हुने गरेको छ। उत्पादित दूध, दही, पनिर, आइसक्रिम, पेडालगायत उपभोग्य वस्तु वीरगञ्ज, हेटौँडा, नारायणघाट र काठमाडौँमा बिक्री हुने गरेको छ।