काठमाडौँमा लागूऔषधको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले दिएको जानकारी अनुसार, उनीहरूलाई मंगलबार दिउँसो करिब २ बजे बल्खु क्षेत्रबाट पक्राउ गरिएको हो।
प्रहरीले दिएको जानकारी अनुसार, विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका-१४ बल्खु स्थित सडक खण्डमा शंकास्पद रूपमा हिँडिरहेका व्यक्तिहरूमाथि निगरानी गरेको थियो। सोही क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका-२ घर भई हाल काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-४ बस्ने २४ वर्षीय होम राज श्रेष्ठलाई पहिलो चरणमा नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी परिसरका सूचना अधिकारी, प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहराले दिएको जानकारी अनुसार, श्रेष्ठसँगको सोधपुछका क्रममा लागूऔषध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान खुलेपछि थप तीन जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्ने अन्यमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-२ घर भई हाल काठमाडौँ महानगरपालिका-१२ टेकु बस्ने २३ वर्षीय रविन श्रेष्ठ, नुवाकोटको तारकेश्वर गाउँपालिका-४ घर भई हाल काठमाडौँमा बस्ने २१ वर्षीय सुरेन्द्र अछामी, र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-४ घर भई हाल काठमाडौँमा बस्ने २५ वर्षीय विजय आले मगर रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १०६७ (एक हजार सतसठ्ठी) क्याप्सुल लागूऔषध ट्रामाडोल, नगद १९ हजार ५ सय रुपैयाँ र विभिन्न कम्पनीका ६ थान मोबाइल फोन बरामद गरेको बताएको छ।
प्रहरीले पक्राउ परेका चारै जनालाई सम्मानित काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान गरिरहेको बताएको छ।