गर्मीयाम सुरु भएसँगै अण्डा उत्पादनमा कमी आएपछि बजारमा माग बढेको छ र मूल्य पनि उकालो लागेको छ । उत्पादन घटेपछि बजारको माग धान्न मुस्किल परेको कुखुरापालक व्यवसायीहरूले बताएका छन् ।
गर्मीका कारण कुखुराले दाना कम खाने र तनाव महसुस गर्ने हुँदा अण्डाको आकार र सङ्ख्या दुवै घट्ने विज्ञहरू बताउँछन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालले गर्मीसँगै कुखुराले अण्डा कम दिने क्रम सुरु हुने बताए । उनका अनुसार मुख्य रोगहरू पनि यही मौसममा देखा पर्छन् र पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीको तनाव झनै बढ्छ । "उनले भने, "अझै अण्डाको उत्पादन घट्दै जानेछ । गर्मी उच्चविन्दुमा पुग्दा २५ प्रतिशतसम्म उत्पादन घट्न सक्छ ।"
नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले उत्पादन घटेपछि माग धान्न मुस्किल हुन थालेको बताए । उनका अनुसार करिब चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकामा अहिले घटेर २८ हजार हाराहारीमा झरेको छ । उनले भने, "गर्मी बढ्नु, दानाको मूल्य उच्च हुनु र अण्डाको मूल्य कम भएपछि धेरै किसानले कुखुरा बिक्री गरे र नयाँ चल्ला राख्न सकेनन्, जसले गर्दा उत्पादन घट्यो ।" विद्यालय, क्याम्पस खुल्नु र पर्यटक बढ्नुले पनि बजारमा अण्डाको माग बढेको उनले बताए । माग बढेसँगै किसानले पाउने अण्डाको मूल्य बढ्दो क्रममा छ ।
अध्यक्ष पोखरेलका अनुसार हाल एक्सएल (XL) अण्डा प्रतिक्रेट (३० वटा) रु. ४६०, ठूलो (Large) रु. ४३५ र मध्यम (Medium) रु. ३८५ कायम भएको छ । बजारमा माग अनुसार अण्डा नपाएपछि मूल्य क्रमशः बढ्दै गएको हो । गत वर्ष प्रतिक्रेट रु. ५२५ सम्म पुगेको अण्डाको मूल्य घटेर रु. ३५० मा झरेको थियो । मूल्य घटेसँगै लागत धान्न नसकेपछि धेरै किसानले अण्डा दिइरहेका कुखुरासमेत बिक्री गर्न बाध्य भएको उनले स्मरण गरे ।
नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा करिब रु. १६.५६ पर्ने सङ्घको तथ्याङ्क छ । अण्डा उत्पादन गर्ने कुखुरा घटेको र माग बढेकोले अहिलेको अवस्था हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ । "उनले भने, "अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका छन् ।"