१२ बैशाख २०८३ , शनिबार

दोगडाकेदारका दुई गाउँमा खानेपानीको हाहाकार, 'एक घर एक धारा' अभियान कागजमै सीमित

News
६ जेष्ठ, काठमाण्डौँ ।

दोगडाकेदार गाउँपालिकाको वडा नं. २ बडिया र कणेलीगाउँमा खानेपानीको चरम समस्या देखिएको छ। गाउँपालिकाले ‘एक घर, एक धारा अभियान’ सञ्चालन गरेपनि ती गाउँमा भने खानेपानीको समस्या ज्यूँका त्यूँ रहेको छ।

ती गाउँका करिब तीन सय घरपरिवारले बाह्रै महिना खानेपानीको समस्या भोग्दै आएका छन्। स्थानीयवासी करनसिंह भाटका अनुसार तत्कालीन समयमा एसियाली विकास बैंक (एडिबी)को सहयोगमा बनेको खानेपानी योजना जीर्ण बनेपछि यहाँ बाह्रै महिना खानेपानीको समस्या हुने गरेको छ। “खानेपानीका लागि निकै समस्या छ। एडिबीले बनाइदिएको खानेपानी योजना जीर्ण भयो, परम्परागत पानीका कुवा सुकेका छन्। यहाँ बाह्रै महिना खानेपानीको हाहाकार हुने गरेको छ,” उनले भने।

एडिबीको सहयोगमा २०५२ सालमा यहाँ खानेपानी योजना निर्माण भए पनि हाल त्यो जीर्ण भएको छ। दोगडाकेदार गाउँपालिकाले अन्य बस्तीमा ‘एक घर, एक धारा अभियान’ सञ्चालन गरे पनि यहाँको समस्या समाधानका लागि कुनै चासो नदिएको स्थानीय बासिन्दाको आरोप छ। गाउँमा भएका पानीका मुहान सुकेपछि बडियावासी एक गाग्री पानीका लागि दिनभरि भौँतारिन बाध्य छन्।

खानेपानीको बाह्रै महिना समस्या हुने गरेको अर्का स्थानीयवासी लोकेन्द्र विष्टले बताए। “बडिया र कणेलीगाउँवासीका दुःख भनेको खानेपानी हो। यो समस्या समाधानका लागि कुनै ठाउँबाट पहल हुनसकेको छैन,” उनले भने। घण्टौं लगाएर खानेपानी ल्याउनुपरेको स्थानीयवासी रघुवीर भाटले बताए। “खानेपानीका लागि घण्टौँ लाइन बसेर भर्नुपर्छ। पानी भर्नमै रातदिन बित्ने गर्छ,” उनले भने।

बडियामा खानेपानी पुर्याउन सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षअघि लिफ्ट खानेपानी योजना सुरु गरे पनि त्यो अधुरै रहेको छ। बजेट अभावका कारण उक्त योजनाले अहिलेसम्म पूर्णता पाउन सकेको छैन। बजेट अभावका कारण बडियामा पाँच वर्षदेखि लिफ्ट खानेपानी अलपत्र पर्दा यहाँका नागरिकलाई समस्या भएको दोगडाकेदार–२ का वडाध्यक्ष विष्णुदत्त भट्टले बताए। “प्रदेश सरकारले निर्माण गरिरहेको लिफ्ट खानेपानी योजना सम्पन्न भएपछि यहाँका नागरिकलाई राहत हुने थियो। हाल भने खानेपानीको निकै समस्या छ,” उनले भने। बजेट बढेर आउनुको सट्टा घटेर आउँदा लिफ्ट खानेपानी निर्माणको काम वर्षौंसम्म सम्पन्न हुन नसकेको वडाध्यक्ष भट्टको भनाइ छ। “योजना निर्माणका काम क्रमागत रूपमा चलिरहेको छ। आगामी वर्ष सम्पन्न हुने आस छ,” उनले भने।

बडियामा खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले पाँच वर्षअघि रु तीन करोड ९६ लाखमा लिफ्ट खानेपानी योजना निर्माण सुरु गरेको डिभिजन खानेपानी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख गोविन्दप्रसाद देवकोटाले उक्त योजनाको काम अन्तिम चरणमा पुगेको बताए। “उक्त योजना चारवटा ‘स्किम’मा काम भइरहेको छ। यसमध्ये तीनवटा ‘स्किम’ लिफ्ट प्रविधिको भएकाले मोटर चलाउन विद्युत्का पोल गाडेर तार तान्ने काम पूरा भएको छ। निर्माण सम्पन्नका लागि केही समय अझै लाग्छ,” उनले भने।