१६ जेष्ठ २०८२ , शुक्रबार

जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी बजेट ल्याइएको छ : अर्थमन्त्री

News
१५ जेष्ठ, काठमाण्डौँ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएको बताए।

"स्रोत व्यवस्थापनको सिमाभित्र रहेर जनताको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन हुने गरी यथार्थपरक बजेट ल्याएका छौं। बजेटले वित्तीय अनुशासन, मितव्ययिता र खर्च कटौतीलाई आत्मसात् गरेको छ", बजेट वक्तव्यपछि संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले भने, "विगतका कमजोरीहरुलाई दोहोरिन नदिने र अर्थतन्त्रका चुनौतीहरु सामना गर्ने गरी बजेट प्रस्तुत भएको छ।"

अर्थमन्त्री पौडेलका अनुसार बजेटले लगानी, उत्पादन, उत्पादकत्व, उद्यमशिलता र रोजगारी वृद्धिमा जोड दिएको छ। विनियोजन कुशलतातर्फ अभिमुख भएको छ। सीमित स्रोतलाई अत्यधिक प्रतिफलयुक्त कार्यक्रम र आयोजनामा विनियोजन गरिएको छ।

"बजेटले उत्पादनका सबै क्षेत्रको मनोबल बढाउनेछ। निजी क्षेत्रलाई लगानीका लागि उत्प्रेरित गर्नेछ। स्टार्टअप, युवा, उद्यमीहरुलाई प्रोत्साहित गर्नेछ", अर्थमन्त्री पौडेलले भने। उनले सबै पक्षको साथ, सहयोग, सहकार्य र समर्थनमा बजेट कार्यान्वयन गर्ने बताए।