धार्मिक आस्थाको केन्द्रका रूपमा मानिँदै आएको धनगढी–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा गङ्गादशहरा पर्वका अवसरमा आज दर्शनार्थीको घुइँचो लागेको छ ।
बेहडाबाबा मन्दिरमा पूजाआजा गर्नका लागि गएराति १२ बजेदेखि श्रद्धालु भक्तजन आएका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले जानकारी दिए । उनका अनुसार कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न जिल्लाका भक्तजन यहाँ दर्शनका लागि आएका छन् ।
“यो मन्दिरले आफ्नै इतिहास बोकेकाले यसको महत्त्व सुदूरपश्चिम प्रदेशमा अत्यधिक छ । बेहडाबाबा सुदूरपश्चिमको मात्रै नभइ देशकै धरोहरका रूपमा परिचित छ । परापूर्वकालमा यहाँ शिवलिङ्ग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ । यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ”, अध्यक्ष चन्दले भने । उनका अनुसार मन्दिर दर्शन गर्नाले सन्तान नहुनेलाई सन्तान सुख प्राप्त हुने, सङ्कटमोचन हुने, शक्ति प्राप्त हुने धार्मिक विश्वस गहिआएको छ ।
यहाँ पूजाआजा तथा दर्शन गर्न आउने भक्तालुको सहजताका लागि धनगढी उपमहानगरपालिकाले सडक मर्मत, बत्ती जडानलगायत पूर्वाधार व्यवस्थापन गरेको आयोजक व्यवस्थापन समितिले जनाएको छ । छिमेकीमूलक भारतबाटसमेत हजारौँ दर्शनार्थी आज यहाँ आएका अध्यक्ष चन्दले जानकारी दिए ।
उनका अनुसार बेहडाबाबा मन्दिरको दर्शन गर्नाले मनमा शान्ति प्राप्त हुनुका साथै मनोकाङ्क्षा पुग्ने हुँदा पनि यहाँ प्रत्येक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलीभित, युपी, उत्तराखण्डलगायत विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन् । “आफूहरूले उत्पादन गरेको अन्न यहाँ दान गर्ने गरेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार तीन देखि पाँच लाखको हाराहारीमा भक्तालुले पूजा गर्ने अनुमान गरिएको छ”, उनले भने ।
मन्दिर परिसर नजिकै मेलाको पनि आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मेलामा यहाँका नेपालीका साथै भारतका व्यवसायीले पनि केही दिनदेखि विभिन्न पसल सञ्चालन गरिरहेका छन् ।
धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमालले विभिन्न चाडपर्वजस्तै गङ्गादशहरा पनि यहाँको महत्त्वपूर्ण चाड मानिँदै आएकाले उपमहानगरले आज यहाँ सार्वजनिक बिदा दिएको जानकारी दिए । उनका अनुसार उपमहानगरले बेहडाबाबामा आउने भक्तजनको सहजताका लागि शिवगङ्गा नदीको छेउबाट मन्दिरसम्म पुग्न निःशुल्क बस सञ्चालन गरिएको छ ।
नगरप्रमुख हमालले गएराति १२ बजेदेखि आज साँझ ६ बजेसम्म निःशुल्क बस सञ्चालन गरिएको जनाउँदै मेलाको अवसर पारेर विभिन्न सामाजिक सङ्घसस्थाले निःशुल्क खाना तथा भण्डारा र खानेपानीको व्यवस्था गरिएको बताए ।