बैतडीको सुर्नया गाउँपालिकामा १० श्ययाको आधारभूत अस्पतालको भवन निर्माण तीव्र गतिमा भइरहेको छ। सुर्नया–५ पपितामा निर्माण भइरहेको अस्पतालको हालसम्म करिब ७० प्रतिशत काम पूरा भएको छ।
सुर्नया गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवरले अस्पताल निर्माण तीव्र गतिमा भइरहेको बताउँदै ‘ए’ ब्लकमा तेस्रो तलाको छत ढलान गरी ‘बी’ ब्लकमा काम भइरहेको जानकारी दिए। “पछिल्लो समय अस्पताल निर्माण धमाधम भइरहेको छ। करिब ७० प्रतिशत काम सम्पन्न भइसकेकाले यथाशीघ्र सम्पन्न हुने विश्वास लिएका छौँ”, उनले भने।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार सुर्नयामा पनि १० श्ययाको अस्पताल निर्माण भइरहेको हो। दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी रु १४ करोडमा सिएम एसके शिवलिङ जेबीसँग २०७८ सालमा भवन निर्माणको ठेक्का सम्झौता भएको थियो।
गाउँपालिकाका सबइञ्जिनियर शेरबहादुर विष्टका अनुसार निर्धारित समयसीमा सकिएपछि म्याद आगामी असार मसान्तसम्म थपिएको छ र सो समयसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवरले स्वास्थ्य सेवा पहिलो प्राथमिकतामा रहेको बताउँदै प्रत्येक नागरिकलाई सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको उल्लेख गरे। “अस्पताल निर्माणपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ। नागरिकले गाउँमा सहज र सुलभ रूपमा स्वास्थ्य सेवा पाउने हाम्रो लक्ष्य छ”, उनले भने।