इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पगेको छ।
इलाम नगरपालिका–९ गोलाखर्क र ११ सोयाक जोड्ने पुवाखोलमा बेलिब्रिज जडान धमाधम भइरहेको सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले जानकारी दिए। सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतमा बेलिब्रिज निर्माण भइरहेको हो। यही जेठ मसान्तसम्ममा सम्पन्न गर्ने गरी बेलिब्रिज निर्माण भइरहेको उनले बताए। बेलिब्रिज ४८ दशमलव ६ मिटर (१६० फिट) लम्बाइको हुनेछ।
बेलिब्रिजको सबै सामान ल्याएर जडान सुरु भएको छ, समग्रमा लगभग ७० प्रतिशत काम सकिएको इञ्जिनियर घिमिरेले बताए। यस स्थानमा पहिलोपटक बेलिब्रिज निर्माण सुरु भएको हो। यसअघि पुल नहुँदा यात्रीहरु जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा थिए।