१७ जेष्ठ २०८२ , शनिबार

साहित्यकार स्मृति योगीको ‘अनुराग’ गजलसङ्ग्रह विमोचन

News
१६ जेष्ठ, काठमाण्डौँ ।

साहित्यकार स्मृति योगीको ‘अनुराग’ गजलसङ्ग्रहको बिहिबार घोराहीमा एक कार्यक्रमबीच विमोचन गरिएको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा उक्त गजलसङ्ग्रह विमोचन गरिएको हो । राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मी, साहित्यकार बुनु लामिछानेलगायतले उक्त गजलसङ्ग्रहको विमोचन गरेका हुन् ।

उक्त गजलसङ्ग्रहमा विभिन्न विषयसँगै गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको विषयलाई समेत समेटिएको छ ।

साहित्यकार योगीको ‘अनुराग’ गजलसङ्ग्रहमा विभिन्न विषय समेटेर तयार पारिएका ८० गलज समावेश छन् । समाजमा भएका विभिन्न विभेद, सामाजिक, आर्थिक, विभिन्न विसङ्गतीलगाएत कुरालाई ‘अनुराग’मा समेट्ने प्रयास गरिएको छ ।

गजलसङ्ग्रह ‘अनुराग’को साहित्यकार सन्ध्या रेग्मी र छविलाल कोपिलाले समिक्षा गरेका थिए । उनीहरूले गजल बाचन गर्दै यसले समाजमा भए गरेका विभिन्न विषय उठान गरी समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका थिए ।

कार्यक्रममा ‘अनुराग’ गजलसङ्ग्रहका लेखक साहित्यकार स्मृति योगीले भनिन्, “अनुरागमा मैले मेरा सपनाहरु समेटेकी छु । मेरा कल्पनाका चित्र कोरेकी छु, मेरो पीडाको मलम अनुरागमै छ । मेरो खुशीको कारण पनि यसमै छ ।”

आफैँले भोगका, देखेका, बालापनमा सहेका पीडा, अनुभव गरेका विभेदलगायत विषयलाई समेट्ने प्रयास गरेको उनी बताउँछिन् । घोराही उपमहानगरपालिका–१७ गुलरियाकी योगीको यो पहिलो कृति हो । उनी तुलसीपुर उपमहानगरपालिका–८ स्थित माध्यमिक विद्यालय अश्वारामा नेपाली सांकेतिक भाषा दोभाषे शिक्षकका रुपमा कार्यरत छिन् । साहित्यकार योगी राप्ती बहिरा सङ्घ समेत आवद्ध छिन् ।