२५ जेष्ठ २०८२ , आईतवार

अन्नपूर्ण हिमालको आरोहणले विश्वमा नेपाल चिनायो

News
१९ जेष्ठ, काठमाण्डौँ ।

पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्जोगको नेतृत्वमा भएको अन्नपूर्ण हिमालको आरोहणले नेपालको पर्वतारोहणको सम्भावनालाई विश्वभर चिनाएको थियो। सन् १९५० जुन ३ मा मौरिस र लुईस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो। हर्जोग र लचेनलले आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलोपटक सफल आरोहण गरेर कीर्तिमान बनाएपछि फ्रान्सले तीन दिन राष्ट्रिय उत्सव मनाएको थियो।

आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछानेले बताए। "मौरिसले अन्नपूर्ण आरोहणको अनुभव समेटेर लेखेको पुस्तकले नेपालको पर्वतारोहण पर्यटनलाई विश्व बजारमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ," उनले भने, "अन्नपूर्ण रेञ्जका हिमाल हेर्न र अन्नपूर्ण पदमार्ग भ्रमणका लागि आउने पर्यटकका कारण पोखरा र गण्डकी प्रदेशलाई मात्र नभई देशलाई नै फाइदा पुगेको छ।"

प्रमुख लामिछानेका अनुसार मौरिस हर्जोग, अन्नपूर्ण रेञ्जका हिमाल, पोखरा, गण्डकी प्रदेश र नेपालको पर्यटन क्षेत्रको सम्बन्ध छ। मौरिसले लेखेको ‘अन्नपूर्णमा पहिलो पाइला’ नामको पुस्तक २० करोडप्रति बिक्री भएको पर्यटन व्यवसायीहरू बताउँछन्। जुन पुस्तक विश्वमा धेरै बिक्री हुनेमध्येमा पर्ने ट्रेकिङ एजेन्सिज एशोसिएशन (टान) गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले बताए।

हर्जोगले आफ्नो पुस्तकमा लेखेका छन्, "हामीले अन्नपूर्ण हिमाल आरोहण गरेपछि फ्रान्सेलीहरू आठ हजार मिटरभन्दा अग्लो हिमालमा गए। हिमालमा फ्रान्सेली झण्डा फहराएपछि ती त्यत्रा हिमाल कसरी चढे, उनीहरू को हुन? भनेर हल्लीखल्ली मच्चियो। संसारभरिका मानिसको आँखा खुल्यो।"

३१ वर्षको उमेरमा अन्नपूर्ण आरोहणको क्रममा उनको दुवै हात र दुवै खुट्टा हिउँले खाएपछि शेर्पाहरूले हिमालबाटै बोकेर आधार शिविर झारेका थिए। फ्रान्सको लियोन सहरमा १५ जनवरी १९१९ मा जन्मिएका हर्जोगको १३ डिसेम्बर २०१२ मा ९३ वर्षको उमेरमा निधन भएको थियो।

हर्जोगको टोली अन्नपूर्ण चढ्न दुई सय ५० जना भरिया लिएर अन्नपूर्ण आधार शिविर पुगेको थियो। पर्यटन विभागका अनुसार हालसम्म पाँच सय ३२ जनाले अन्नपूर्ण आरोहण गरेका छन्।

प्रथम आरोहीको नाममा पदमार्ग

नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पत्ता लागेको थियो। सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो।

पदमार्गको प्रवेशबिन्दुमा पर्ने नारच्याङमा आएका हर्जोगले आरोहणका समयमा प्रयोग गरेको बाटो र आधार शिविरको बारेमा जानकारी गराएपछि स्थानीयवासीहरूको टोलीले पदमार्गको खोज अनुसन्धान गरेको अगुवा गुरुङले बताए।

अहिले हर्जोगले इतिहास रचेको अन्नपूर्ण आधार शिविर र उनले प्रयोग गरेको पदमार्गको पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धन गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको छ।

दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूूर्ण आधार शिविर पर्यटकका लागि नयाँ गन्तव्य हो।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, हिमाल, पहाड, वनस्पति र वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ।

पदमार्गको स्तरोन्नति, खोलामा झोलुङ्गे पुल निर्माण, आश्रयस्थलको क्षमता विस्तार, खानेपानी, शौचालय, सञ्चार, विद्युत् सुविधा र सुरक्षाको व्यवस्थापनका लागि गाउँपालिकाले पूर्वाधार निर्माण थालेको अध्यक्ष पुनले बताए।

अन्नपूर्ण आरोहणको हीरक जयन्ती

हरेक वर्ष नेपाल र विश्वभर विभिन्न कार्यक्रम गरेर अन्नपूर्ण आरोहण भएको दिनको सम्झना गरिन्छ। अन्नपूर्ण आरोहणको ७५ वर्षपछि पहिलो पटक सम्बन्धित भूगोलमा हीरक महोत्सव मनाउन थालिएको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर पुनले बताए।

हीरक जयन्तीको अवसरमा आइतबारदेखि नारच्याङ गाउँदेखि आधार शिविर जोड्ने मौरिक हर्जोग पदमार्गमा पदयात्रा सुरु भएको छ। पदयात्रा टोलीमा मौरिसका छोरा माथिएस, नाती इथेन हर्जोगलगायत फ्रान्स, बेलायत, भारत र इटलीका पर्यटकहरू सहभागी भएका छन्।

माथिएसको नेतृत्वमा विदेशी कलाकारहरूले सोमबार साँझ आधार शिविरमा आरोहीहरूको सांगितिक कार्यक्रम गर्दैछन्।

आफ्ना बुवाले आरोहणका क्रममा प्रयोग गरेको पदमार्ग र आधार शिविरमा पुग्न पाउँदा खुसी लागेको माथिएसले बताए।

हीरक महोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मङ्गलबार हुने कार्यक्रमको तयारी पूरा भएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दीवा तिलिजा पुनले बताइन्।