८ असार २०८२ , आईतवार

अमेरिकन फौजी कीराको प्रकोपले बैतडीका किसान चिन्तित, मकैबालीमा ठूलो क्षति

News
८ असार, काठमाण्डौँ ।

बैतडीमा अमेरिकन फौजी कीराको प्रकोप बढेको छ। प्रमुख खाद्यबाली मकैमा उक्त कीराको समस्या देखिएपछि किसान चिन्तित भएका छन्।

कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीका अनुसार दोगडाकेदार र शिवनाथ गाउँपालिकामा फौजी कीराले मकैबाली नष्ट गर्न थालेको छ। उनले मकै बालीमा कीराको समस्या देखिएको गुनासो आएको र विषादी वितरण गर्न थालिएको बताएका छन्। केन्द्रले यसअघि नै इमामेक्टिन वेन्जोएट नामक विषादी वितरण गरिरहेको थियो। तर, हाल कृषि ज्ञान केन्द्रमा पनि उक्त विषादीको अभाव देखिएको छ।

कीराले मकैको बोट सखाप पार्ने गरेको दोगडाकेदार–७ का दीपेन्द्र कार्कीले बताए। "फौजी कीराले मकैबाली सखाप पारेको छ। उत्पादनमै कमी हुने देखिन्छ," उनले भने। लामो समयसम्म खडेरी परेका कारण फौजी कीरा बढी सक्रिय भएको अनुमान गरिएको छ।

दोगडाकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेश भट्टका अनुसार दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा बाली नष्ट गर्ने गरेको छ। "फौजी कीरा देखिएका स्थानका किसानलाई हामीले विषादी छर्किन सुझाव दिएका छौँ," उनले भने। कीराले मकैको पकेट क्षेत्रमा नै नोक्सान गरेको छ। बैतडीमा पाँच वर्षयता हरेक वर्ष फौजी कीराको समस्या देखिने गरेको छ। जिल्लामा १३ हजार हेक्टर क्षेत्रमा मकैखेती गरिँदै आएको छ।