पछिल्लो एक वर्षमा नेपालमा प्रेस स्वतन्त्रता हननसम्बन्धी ७३ वटा घटना भएका छन्। नेपाल पत्रकार महासङ्घका अनुसार सन् २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्मको अवधिमा भएका यी घटनाहरूमा १५१ पत्रकार र पाँच वटा सञ्चार संस्था आक्रमणमा परेका छन्।
महासङ्घका महासचिव रामप्रसाद दाहालले उक्त अवधिमा दुई जना पत्रकारको हत्या भएको जानकारी दिएका छन्। यसैगरी, पेशागत असुरक्षाका १६ वटा घटना अभिलेख भएका छन्। पत्रकारमाथि धम्की, धरपकड तथा दुव्र्यवहारका घटनाहरू भएको र यसलाई लोकतन्त्रमाथिकै प्रहार भएको महासङ्घले ठहर गरेको छ।
आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासङ्घले यो तथ्याङ्क सार्वजनिक गरेको हो।
महासङ्घले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या, सञ्चारमाध्यममाथि आगजनी र आक्रमण, शिक्षक आन्दोलनमा समाचार सङ्कलनका क्रममा पत्रकार सविना कार्कीमाथि भएको ज्यादती, घरानका पत्रकार गोपाल दाहालमाथि स्थानीय सरकारको प्रमुखबाटै भएको भौतिक आक्रमणको धम्की तथा मानसिक यातनाका कारण विस्थापित हुनुपरेको घटनाप्रति खेद प्रकट गरेको छ।
सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा भएको पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा घोषणा–पत्र जारी गरेको थियो। त्यसयता युनेस्कोले सन् १९९३ देखि प्रत्येक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि विश्वभर यो दिवस मनाउन सुरु भएको हो।