२५ बैशाख २०८२ , बिहीबार

अर्घाखाँचीका ओमप्रकाश पाण्डेको सफलताको कथा: शिक्षाले डोर्‍यायो, पर्यटनमा फस्टायो

News
२४ बैशाख, काठमाण्डौँ ।

अर्घाखाँचीका ओमप्रकाश पाण्डे, जो उच्च शिक्षाका लागि पोखरा पुगेका थिए, अहिले पर्यटन व्यवसायमा फस्टाएका छन्। पर्यटकीय सहर पोखरामा 'कमाउँदै–पढ्दै' गर्ने क्रममा २०४५ सालमा एउटा होटलमा काम सुरु गरेका पाण्डे अहिले ६ वटा होटलका मालिक बनेका छन्।

पोखराको एउटा होटलमा आंशिक रोजगारीबाट आफ्नो करियर सुरु गरेका पाण्डे अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेका छन्। होटल र ट्राभल एजेन्सीहरूमा काम गर्दाको ज्ञान, सीप, अनुभव र सम्बन्धलाई उपयोग गर्दै पाण्डे एक सफल पर्यटन व्यवसायी बनेका छन्। उनले अहिले धेरैलाई रोजगारी पनि दिइरहेका छन्।

२०२२ सालमा जन्मिएका पाण्डेले अर्घाखाँचीको एउटा स्थानीय विद्यालयबाट एसएलसीसम्मको अध्ययन पूरा गरे। त्यसपछि उनी उच्च शिक्षाका लागि पृथ्वीनारायण क्याम्पस, पोखरा गए जहाँ उनले विज्ञानमा स्नातक गरे।

पाण्डे भन्छन्, "विद्यार्थी जीवनमा तीन वर्ष होटलमा काम गरेको अनुभवले मलाई आत्मविश्वासका साथ यो क्षेत्रमा आकर्षित गर्‍यो।" सुरुमा १ लाख ५० हजार रुपैयाँ लिएर पोखरामा भाडामा होटल चलाउन थालेका उनले धेरै उतारचढाव पार गर्दै चारवटा होटल चलाए। कहिले कमाए, कहिले गुमाए। "होटल चलाउँदै गर्दा पहिला किनेको घडेरी बेचेर ऋण पनि तिर्नुपर्‍यो। तर पछिल्लो होटलले राम्रो कमाइ गर्‍यो र ट्राभल एजेन्सीबाट पनि नाफा भयो," उनले भने।

भाडामा होटल चलाउँदै आएका पाण्डेले २०६२ सालमा केही नगद र बैंक ऋण गरेर पोखराको लेकसाइडमा होटल ल्याण्डमार्क किने। १ करोड ५० लाखमा किनेको २३ कोठाको होटललाई विस्तार गरेर अहिले १०० कोठाको चारतारे होटलमा स्तरोन्नति गरिएको छ।

उनको होटल व्यवसायको यात्रा निरन्तर अघि बढिरहेको छ। २०६७ सालमा उनले चितवनको सौराहामा जग्गा किनेर होटल बनाए र आफ्नो व्यवसायलाई थप विस्तार गरे। २०७१ सालदेखि सौराहामा ७५ कोठाको ल्याण्डमार्क होटल सञ्चालन गरिरहेका पाण्डेले काठमाडौंको दरबारमार्गमा पनि ल्याण्डमार्क होटल सञ्चालन गरिरहेका छन्।

क्षेत्रीय होटल संघ, सौराहाका उपाध्यक्ष गुणराज थपलिया भन्छन्, "पाण्डे आफैं साहु र कामदारको भूमिकामा रमाउन सक्ने भएकाले सफल भएका हुन्। उनको परिवार पनि तनमनका साथ काममा खटेको देखिन्छ। इमान्दार भएर निरन्तर खटे सफलता पाइन्छ भन्ने कुरालाई उनले प्रमाणित गरेका छन्।" थपलियाले पाण्डेको सफलताको प्रशंसा गर्दै एउटै परिवारका सदस्यहरू मिलेर पेसामा समर्पित हुनु उदाहरणीय भएको बताए।

पाण्डेले गत वर्षदेखि भैरहवाको एउटा होटलको व्यवस्थापन पनि हेरिरहेका छन्। यसै महिनादेखि उनले भरतपुरको होटल रोयल सेञ्चुरीलाई भाडामा लिएर नारायणी ल्याण्डमार्कको नामबाट सञ्चालन गर्न थालेका छन्। उनले तनहुँको देवघाटमा अर्को होटल भाडामा लिएर ल्याण्डमार्क फार्म हाउसको नामबाट सञ्चालन गरिरहेका छन्।

पाण्डेले वीरगञ्ज, जनकपुर र नगरकोटमा पनि होटल सञ्चालन गर्ने वा व्यवस्थापन हेर्ने योजना बनाएका छन्। उनका होटलहरूमा अहिले ३५० कोठा छन् र लगभग ५०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्षसमेत रहेका पाण्डे यसअघि संघको उपाध्यक्ष थिए। उनी ‘नेपाल टुर एण्ड ट्राभल’ गण्डकी प्रदेशको अध्यक्ष पनि भइसकेका छन्।

आफ्नो परिवारलाई साथ लिएर अघि बढेका पाण्डेका तीन दाजुभाइ होटल व्यवसायमा संलग्न छन्। तीन दाजुभाइका तीन छोरा पनि प्रत्यक्ष रूपमा यही व्यवसायमा जोडिएका छन्।

उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले पाण्डेले चितवनको पर्यटन व्यवसायको प्रवर्द्धन, रोजगारी सिर्जना र समाजसेवामा अतुलनीय योगदान पुर्‍याएको बताए।

स्थानीय होटल व्यवसायीहरूका अनुसार पाण्डे सामान्य परिवारमा जन्मिए पनि दृढ इच्छाशक्ति भएका, सकारात्मक सोच राख्ने, श्रमलाई सम्मान गर्ने, स्वप्नद्रष्टा र कर्मशील पर्यटन व्यवसायी हुन्। होटल संघ सौराहाका अनुसार उनले देशको पर्यटन व्यवसायमा ठूलो योगदान दिएका छन्।

पाण्डे भन्छन्, “व्यवसायमा आजको आजै मुनाफा हुँदैन, कुर्न सक्नुपर्छ।” उनी नेपालमा केही हुँदैन, विदेश जानुपर्छ भन्नेहरूका लागि एक उदाहरण हुन्।