दोस्रो मुख्य पर्यटकीय याममा गण्डकी प्रदेशस्थित अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। गत अप्रिल महिनामा मात्र ४४ हजार सात सय ६३ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ।
यो सङ्ख्या गत वर्ष सोही महिनाको तुलनामा १० हजार आठ सय ५२ ले बढी हो। सन् २०२३ को अप्रिलमा ३३ हजार नौ सय ११ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए। एक्यापको आँकडाअनुसार पछिल्ला वर्षहरूमा पर्यटन आगमन दरमा निरन्तर वृद्धि भइरहेको छ।
एक्यापका प्रमुख डा. रविन कडरियाले कोभिड–१९ महामारीपछि थलिएको यस क्षेत्रको पर्यटन पुनः पुरानै लयमा फर्किएको बताए। "मार्चदेखि मे महिनासम्म धार्मिक भ्रमणदेखि पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा पर्यटक यस क्षेत्रमा आउने गरेका छन्," उनले भने। गत मार्चमा ३६ हजार आठ सय ३४ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए भने त्यसअघि फेब्रुअरीमा १२ हजार ६८ र जनवरीमा नौ हजार तीन सय ५९ पर्यटक आएका थिए।
प्रमुख डा. कडरियाका अनुसार यो वर्ष (सन् २०२४) को पहिलो चार महिनामा कुल एक लाख तीन हजार २४ पर्यटक भित्रिएका छन्। यो सङ्ख्या गत वर्ष (सन् २०२३) को सोही अवधिको ७८ हजार नौ सय ६८ भन्दा बढी हो। सन् २०२२ को पहिलो चार महिनामा भने ६८ हजार सात सय ५६ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए।
अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य हो। वर्षात् र जाडो याममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको सङ्ख्या न्यून हुने गरे पनि अन्य समयमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गर्दछ। सडकमार्गबाट घुम्न र पदयात्रा गर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढेको आयोजना कार्यालयले जनाएको छ। मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन्। एक्यापले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ।
अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।
सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन्। यो क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ। हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिएको छ।