काठमाडौं प्रहरीले ४० लाख ३२ हजार ५०० रुपैयाँ हुण्डी रकमसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले काठमाडौं महानगरपालिका २४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलामा छापा मारेर उक्त रकम बरामद गरेको हो।
पक्राउ पर्नेहरूमा भारतको कलकत्ता घर भई काठमाडौं महानगरपालिका २३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भई चन्द्रागिरी नगरपालिका १५ तिनथाना बस्ने ६३ वर्षीय धर्म प्रसाद ढकाल रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १ हजार दरका ४०२० वटा नोट (४० लाख २० हजार रुपैयाँ), ५०० दरका २५ वटा नोट (१२ हजार ५०० रुपैयाँ), दुईवटा सामसुङ मोबाइल, विभिन्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडका हस्ताक्षर मात्र गरिएको खाली चेक २ थान, विभिन्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडका चेक १९ थान र पासबुक ११ थान बरामद गरेको छ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिए।