इजरायली सेनाले गाजामा गरेको आक्रमणमा १६ जनाको मृत्यु भएको छ। गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार दिएको जानकारी अनुसार पछिल्ला दिनहरूमा इजरायलले आफ्नो सैन्य आक्रमण बढाएको छ।
एजेन्सीका अधिकारी मोहम्मद अल–मुगायरले ‘मध्यरातदेखि गाजा पट्टीका विभिन्न क्षेत्रमा इजरायली आक्रमण’ बाट कुल १६ जनाको मृत्यु भएको बताएका छन्। अधिकारीका अनुसार मुख्यतया क्षेत्रको मध्य र दक्षिणमा आक्रमण गर्दा दर्जनौँ मानिस घाइते भएका छन्।
इजरायलले दुई महिनाको युद्धविरामको अन्त्य गर्दै मार्च १८ मा गाजामा पुनः आक्रमण सुरु गरेको हो।
बिहीबार गाजाको स्वास्थ्य मन्त्रालयले त्यसबेलादेखि यस क्षेत्रमा कम्तीमा तीन हजार छ सय १३ जनाको मृत्यु भएको र युद्धको कुल सङ्ख्या ५३ हजार सात सय ६२ पुगेको बताएको छ।
आधिकारिक तथ्याङ्कमा आधारित एएफपी टोलीका अनुसार हमासको सन् २०२३ अक्टोबरको आक्रमणले सुरु गरेको युद्धमा इजरायलमा एक हजार दुई सय १८ जनाको मृत्यु भएको थियो । तीमध्ये अधिकांश सर्वसाधारण थिए ।
हमास लडाकूहरूले दुई सय ५१ जना बन्धकहरू पनि लिएका थिए । तीमध्ये गाजामा रहेका ५७ मध्ये ३४ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ।