युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शान्तिपूर्ण समाधानको पक्षमा बोल्दै रुसले सोमबारदेखि लागू हुने ३० दिनको युद्धविराममा सहमति जनायो भने युक्रेन वार्ताका लागि तयार हुने बताएका छन्। उनले मे १५ मा इस्तानबुलमा वार्ता हुन सक्ने सङ्केत दिएका छन्।
राष्ट्रपति जेलेन्स्कीले तीन वर्षअघि सुरु भएको युद्धयता पहिलोपटक रूसबाट केही सकारात्मक सङ्केत देखिएको बताउँदै यसलाई शान्तिको दिशामा प्रारम्भिक पाइला भएको उल्लेख गरे।
सामाजिक सञ्जालमार्फत उनले एक दिनका लागि पनि हिंसा जारी राख्नुको अर्थ नभएको बताउँदै यदि रुसले पूर्ण, विश्वसनीय र स्थायी युद्धविराममा सहमति जनायो भने युक्रेन वार्ताका लागि तयार रहेको बताए।
राष्ट्रपति जेलेन्स्कीका प्रमुख सल्लाहकार एन्ड्री यर्माकले पनि वार्ताका लागि पहिलो शर्त युद्धविराम भएको स्पष्ट पार्दै पहिला ३० दिनको युद्धविराम, त्यसपछि मात्र अन्य विषयमा छलफल हुने बताए।
यता, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि वार्ताका लागि मे १५ को मिति प्रस्ताव गरेका छन्। तर, उनले युक्रेन र उसका पश्चिमी सहयोगीहरूद्वारा प्रस्तावित ३० दिने युद्धविरामको मागबारे कुनै प्रत्यक्ष प्रतिक्रिया जनाएका छैनन्।