२२ बैशाख २०८२ , सोमबार

अमेरिकी ट्यारिफ विवादबीच सी चिनफिङ भियतनाममा, भने – ‘व्यापार युद्धमा कोही विजेता हुँदैन’

News
१ बैशाख, काठमाण्डौँ ।

अमेरिका र चीनबीच एकअर्काका सामानमा भारी भन्सार शुल्क (ट्यारिफ) लगाउने क्रम जारी रहँदा चिनियाँ राष्ट्रपति सी चिनफिङ दक्षिणपूर्वी एसियाली देश भियतनामको भ्रमणमा पुगेका छन्। सोमबार हनोई आइपुगेका सीले व्यापार युद्ध वा ट्यारिफ युद्धमा कुनै पनि पक्ष विजेता नहुने कुरामा जोड दिएका छन्।

उनले बहुपक्षीय व्यापार प्रणाली, स्थिर विश्वव्यापी औद्योगिक तथा आपूर्ति श्रृंखला, र खुला एवं सहकारी अन्तर्राष्ट्रिय वातावरणको दृढतापूर्वक रक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।

अमेरिकाले चिनियाँ सामानमाथि बढाउँदै लगेको ट्यारिफको दबाबका बीच चीनले अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास स्वरूप यो भ्रमण गरेको विश्लेषण गरिएको छ। यद्यपि, यो भ्रमण पूर्व निर्धारित भए तापनि हालको व्यापारिक तनावले यसलाई थप महत्त्वपूर्ण बनाएको छ।

भ्रमणका क्रममा राष्ट्रपति सीले भियतनाम कम्युनिस्ट पार्टीका महासचिव टो लाम र प्रधानमन्त्री फाम मिन्ह चिन्ह लगायतका उच्च नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यो भ्रमणले चीन र भियतनामबीचको सम्बन्धका साथै क्षेत्रीय व्यापारिक वातावरणमा पर्न सक्ने प्रभावबारे चासो बढेको छ।