३ जेष्ठ २०८२ , शनिबार

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

News
३ जेष्ठ, काठमाण्डौँ ।

धुलिखेलमा विद्युत्को खम्बामा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । आज धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत्को खम्बामा काम गर्ने क्रममा सर्लाहीको ईश्वरपुर नपा–१२ घारीबथाका २८ वर्षीय उपेश परियारको करेन्ट लागेर मृत्यु भएको हो ।

नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित उक्त स्थानमा ११ हजार भोल्टको हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेको अवस्थामा बिहान ११ः३० बजे अचानक करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार परियारको घटनास्थलमै मृत्यु भएको हो । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमाण्डमा टोली खटाइएको छ ।

तार जोड्न खम्बामा चढेका परियारको विद्युत् प्राधिकरणले सूचनाविना नै विद्युत् लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको बताइएको छ । विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोक वितरण केन्द्र बनेपाले शुक्रबार एक सूचना जारी गर्दै शनिबारदेखि त्यस क्षेत्रमा ११ केभी लाइन चार्ज गरिने भएकाले लाइनको वरिपरी गाईवस्तु नछाड्न, विद्युत्को खम्बालगायतका विद्युतीय सामग्री नछुन सार्वजनिक आह्वान गरेको थियो ।

मृतक परियारको शवलाई खम्बाबाट निकालेर शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।