काठमाडौं महानगरपालिका–१० बुद्धनगरबाट सुनजस्तो देखिने पहेंलो धातुका गहना देखाएर ठगी गर्ने एक महिला पक्राउ परेकी छन्।
असार १० गते दिउँसो ३ बजे रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ घर भई भक्तपुर राधे राधे बस्ने ४२ वर्षीया दिलमाया मगरले बुद्धनगरस्थित एक सुनचाँदी पसलमा सुनजस्तो देखिने पहेंलो धातुबाट बनेका गहना र विभिन्न सुनचाँदी पसलका बिल देखाएर रु. ११ लाख रुपैयाँ धितोमा लिएकी थिइन्। थप रकम आवश्यक परेको भनी असार १५ गते दिउँसो २ बजे पुनः सुनजस्तो देखिने पहेंलो धातुका गहना लिएर आएको भन्ने सूचना पाएपछि प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
उनको साथबाट सुनजस्तो देखिने पहेंलो धातुबाट बनेको माइली तिलहरी १२ थान, सुनजस्तो देखिने पहेंलो धातुबाट बनेको छड्के तिलहरी १६ थान, विभिन्न सुनचाँदी पसलका बिल १७ थान र विभिन्न कम्पनीका मोबाइल २ थान बरामद गरिएको छ।
प्रहरीका अनुसार उनले प्रहरीको पोसाक प्रयोग गरी नक्कली प्रहरी बनेर विभिन्न व्यवसायीहरूलाई डर त्रास देखाउने गरेको समेत खुल्न आएको छ। पक्राउ परेकी मगरलाई ठगी सम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।