म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा भिरमा मह शिकार सुरु भएको छ। स्वाँतवासीले हरेक वर्ष जेठ महिनाको पहिलो हप्ता सामूहिक रूपमा गाउँ वरपरको भिरमा मह शिकार गर्ने वर्षौँ देखिको चलनलाई निरन्तरता दिएका हुन्। स्थानीय लोकबहादुर पाइजाको नेतृत्वमा मंगलबार छहरे भिरबाट ४० लिटर मह निकालिएको छ।
डोरीमा झुन्डिएर मह निकाल्ने टोलीमा पाइजाको साथमा ७२ वर्षीय केशबहादुर तिलिजा पुनदेखि तुलबहादुर पुर्जा, सुजन तिलिजा र सनम पाइजा लगायतका युवाहरू सहभागी थिए। भीरमा भाडामा झिकिएको महलाई संकलन, प्रारम्भिक प्रशोधन गर्ने र सहयोगीसहित करिब २० जना सहभागी थिए। मह शिकार गर्ने चलन लोप हुन नदिन अग्रजहरूले युवाहरूलाई यससम्बन्धी सीप सिकाएर हस्तान्तरण गरेका छन्।
स्वाँतवासीहरू घरको काम सकेर दिनभर मह शिकार अवलोकन गर्न छहरे भिर गएका थिए। मह शिकार गर्नुअघि भिरको नजिकै मगर संस्कृति अनुसार अशुभ नहोस् भन्ने कामना गर्दै पूजाआजा गरिएको थियो। गत वर्ष दुई सय लिटर मह निकालिएको छहरे भिरमा यसपालि पाँच गुणा कम मह उत्पादन भएको छ।
केही दिनदेखिको वर्षाका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाले मह कम भएको शिकारी पाइजाले बताए। छहरीको भिरमा ११ वटा गोला थियो। बुधबार स्वाँतदेखि खोपारा जाने पदमार्गमा पर्ने छिसको टाउको भिरमा मह शिकार गर्ने तयारी छ। त्यहाँ करिब २० वटा गोला छन्।
खोल्साको नजिकैको ओसेपिलो ठाउँको पहाडको बीच भागमा भिर मौरीको बासस्थान हुन्छ। वनजङ्गलमा फुल्ने फूल भिरमौरीको आहारा हो। हिउँदमा न्यानो खोज्दै बेँसी झर्ने भिरमौरी गर्मी बढ्न थाले सँगै माथिल्लो क्षेत्रमा बसाइँसराइ गर्छन्।
मह शिकार अवलोकनका लागि पर्यटकहरू पनि आएका थिए। काठमाडौँका सागर पराजुलीले रसीमा झुन्डिएर भिरबाट मह निकालेको साहसिक दृश्य अवलोकन गर्ने सौभाग्य मिलेको बताए। "मह शिकारीले डोरीको सहायताले भीर मौरीको गोला भएको डरलाग्दो भिरमा झुन्डिएर मह निकालेको पहिलो पटक देख्दा शरीर नै जिरिङ्ग भयो," उनले भने, "भिर मह खाँदा जति स्वादिलो र रसिलो हुन्छ, यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नु पर्ने रहेछ।"
भीरमा भीर मौरीले लगाएका गोला काट्नका लागि मह शिकारी डोरी (पराङ) मा झुन्डिएर मह शिकार गर्ने गर्दछन्। वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ। वसन्त ऋतुमा बेँसी र शरदमा लेकमा पुगेर भिर मह निकाल्न उपयुक्त समय हो। मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँडिएका हुन्छन्।
चौध वर्षदेखि मह शिकार गर्दै आएका ७२ वर्षीय केशबहादुरले पछिल्लो समय मौरीको टोकाइबाट बच्न सकिने कपडा, सेफ्टी बेल्ट प्रयोग गर्न थालेपछि जोखिम घटेको अनुभव बताए। स्वादिष्ट र स्वास्थ्यका लागि हितकर भिर मह शक्तिबर्धक हुने स्वाँतका बासिन्दा बलबहादुर तिलिजाले बताए।
स्वाँतका सबै भिरबाट निकालिएको मह संकलन गरेपछि बैठक बसेर वितरण गर्ने चलन छ। पराङमा चढ्ने, उनीहरूलाई सहयोग गर्ने र गाउँमा बसोबास गर्नेहरूलाई तीन वर्गमा विभाजन गरेर मह वितरण गर्ने चलन छ। गाउँमा वितरण भएपछि बढी भएको मह बाहिर बिक्री गर्ने गरिन्छ। स्वाँतको भिर महको मूल्य प्रति लिटर रु. तीन हजार कायम गरिएको छ।
अन्नपूर्ण गाउँपालिका–५ शिखका वडा अध्यक्ष राजेश तिलिजा पुनले मह शिकारलाई व्यवस्थित, आधुनिक र सुरक्षित तथा व्यवसायिक बनाउँदै पर्यटनसँग जोड्ने योजना रहेको बताए। मह शिकारको समयमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, महलाई व्यवस्थित रूपमा प्रशोधन र भण्डारण गरी बजारीकरणको व्यवस्था मिलाउन पहल गर्ने वडा अध्यक्ष तिलीजाले बताए।