लामो समयसम्म जारी नाकाबन्दीले मानवीय सहायता प्रवाह नहुँदा गाजामा अनिकाल र जोखिमको खतरा बढिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चेतावनी दिएको छ।
गाजाको सम्पूर्ण २१ लाख जनसङ्ख्याले लामो समयसम्म खाद्यान्नको अभावको सामना गरिरहेको र करिब पाँच लाख मानिस भोक, तीव्र कुपोषण, भोकमरी, रोग र मृत्युको विनाशकारी अवस्थामा छन्। डब्लुएचओले एक विज्ञप्ति जारी गर्दै यो विश्वको सबैभन्दा खराब भोक सङ्कटहरू मध्ये एक हो, जुन वास्तविक समयमा प्रकट हुन्छ भनेको छ।
डब्लुएचओ सदस्य रहेको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइपिसी) साझेदारीले आज खाद्य सुरक्षा विश्लेषण जारी गरेको छ। डब्ल्लुएचओका महानिर्देशक टेड्रोस अधोनम गेब्रेयससले गाजामा अनिकालको घोषणाका लागि पर्खनु नपर्ने, खाना र औषधिहरू सीमापार केही मिनेट टाढा हुँदा पनि मानिसहरू भोकमरी, बिरामी र मर्दै गरेको बताएका छन्।
अनिकाल अझै घोषणा गरिएको छैन, तर मानिसहरू अहिले भोकमरीमा छन्। गाजाको तीन चौथाइ जनसङ्ख्या ‘आपत्कालीन–विनाशकारी’ अभावमा छन्। यो आइपिसीको खाद्य असुरक्षा र पोषणको अभावको पाँच–स्तरको मापनको सबैभन्दा खराब दुई स्तर हो।
यदि स्थिति जारी रह्यो भने पाँच वर्षमुनिका करिब ७१ हजार बालबालिका आगामी ११ महिनामा तीव्र कुपोषण हुने अपेक्षा गरिएको आइपिसीको रिपोर्टमा उल्लेख छ।