११ असार २०८३ , बिहीबार

पोखरामा तरबुजा खेती फस्टाउँदै, चार महिनामा १५ लाख आम्दानी

News
३ जेष्ठ,गण्डकी

 पोखराका विभिन्न स्थानमा तरबुजा खेती फस्टाएको छ। पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुङ्गा, पोखरा–१३ ढाँडबेसी लगायतका फाँटहरुमा लटरम्म तरबुजा फलेका छन्।

पहिले तराई र भारतबाट आएका तरबुजा खाने पोखरेली अहिले आफ्नै गाउँठाउँमा फलेको तरबुजाको स्वाद लिन पाउँदा खुसी छन्। ढाँडबेसीमा ई विक्रम बरालसहितका युवाहरुले १५ रोपनी क्षेत्रफलमा गरेको तरबुजा खेतीबाट चार महिनामा १५ लाख रुपैयाँ आम्दानी गरिसकेका छन्। बरालका अनुसार यस क्षेत्रमा पनि राम्रो तरबुजा फल्छ भन्ने प्रमाणित भएको छ।

पोखरा महानगरपालिका–३३ सुरौदी फाँटको तिखेढुङ्गामा ज्ञानबहादुर कार्की र रमेश आचार्यले ३५ रोपनी क्षेत्रफलमा तरबुजा लगाएका छन्। उनीहरुले लगाएको तरबुजा अबको केही दिनमा बजारमा आउने कृषक रमेश आचार्यले बताए।

पोखरा–१३ पाटनवेशीका बुद्धप्रसाद बरालले तीन रोपनी क्षेत्रफलमा तरबुजा लगाएर झण्डै ६०० किलोग्राम बिक्री गरिसकेका छन्। पोखराकै हेमजामा रमेश कार्कीले तीन रोपनी क्षेत्रफलमा लगाएको तरबुजा पनि राम्रो फलेको छ।

पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाका अनुसार यस वर्ष पोखरामा २०० रोपनी क्षेत्रमा तरबुजा खेती विस्तार गरिएको छ। महानगरपालिकाले बीउ तथा मलचिङमा सहयोग गरेको उनले बताए। पोखरामा यस वर्ष करिब ४०० टन (लगभग दुई करोड रूपैयाँ बराबर)को तरबुजा उत्पादन भएको छ।

महानगरपालिकाले पोखरामा उत्पादित सरस्वती जातको खरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टिकर तयार गरेको कडरियाले जानकारी दिए।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न तरबुजा मेला

पोखरामा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले तरबुजा मेला आयोजना गरिएको छ। पोखरा महानगरपालिका–१३ का वडा अध्यक्ष किरण बरालले कृषि उत्पादनमा प्रोत्साहन गर्दै आत्मनिर्भरता अभिबृद्धि गर्ने लक्ष्य राखिएको बताए।

पोखरामा नै फल्यो करिब आठ किलो तौलको तरबुजा

मेलाका अवसरमा ल्याइएका तरबुजामध्ये पोखरा–३३ सुरौदीको तिखेढुङ्गमा लगाइएको एउटा तरबुजाको तौल सात किलो ८६० ग्राम पाइएको छ। ठूलो तौलको तरबुजा फलाएबापत रमेश आचार्य र ज्ञानबहादुर कार्कीलाई पुरस्कृत गरिएको थियो।

मेलामा गरिएको तरबुजा खाने प्रतियोगितामा रवि बराल र विमला श्रेष्ठ पहिलो र दोस्रो भएका थिए। प्रदर्शनीमा उत्कृष्टता हासिल गर्ने मणिद्विप कृषि फर्मका श्रीधरलाल बराल र रोशन बराल प्रथम भएका थिए।