२९ जेष्ठ २०८२ , बिहीबार

दक्ष दन्त चिकित्सक उत्पादन गर्नुपर्ने आवश्यकता छ : खानेपानीमन्त्री यादव

News
२७ जेष्ठ, काठमाण्डौँ ।

खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकको आवश्यकता, महत्व र माग अधिक रहेकाले दक्ष जनशक्ति उत्पादन अपरिहार्य भएको बताएका छन्।

आज पिपल्स डेन्टल कलेज एन्ड हस्पिटलले कलेजका प्रमुख संस्थापक तीर्थरत्न बज्राचार्यको २२औँ वार्षिक पुण्यतिथिका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले नेपालमा दन्त स्वास्थ्य सेवाको आवश्यकता दिनानुदिन बढ्दो रहेको र दन्त चिकित्सकको भूमिका अझ महत्वपूर्ण हुँदै गइरहेको बताए। उनले भने, “नेपालमा अझै धेरै ग्रामीण तथा दुर्गम क्षेत्रमा दन्त स्वास्थ्य सेवाको पहुँच कमजोर छ, जसका कारण त्यहाँ दन्त चिकित्सकको माग अत्यन्तै उच्च छ, सरकारले यस दिशामा ध्यान दिइरहेको छ र आगामी दिनमा दन्त स्वास्थ्य सेवा विस्तार गर्ने योजनामा पनि काम भइरहेको छ।”

जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले दन्त स्वास्थ्य सचेतना अभिवृद्धि, ग्रामीण क्षेत्रमा सेवा विस्तार र दन्त चिकित्सक शिक्षामा गुणस्तर वृद्धिका लागि सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकामा जोड दिए।

पिपल्स डेन्टल कलेज एन्ड हस्पिटलका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर चन्दले पिपल्स डेन्टल कलेज एन्ड हस्पिटलमा एमबिबिएसको पढाइ सञ्चालन गर्नका लागि भौतिकलगायत अन्य प्रक्रिया अघि सारिए पनि अहिलेसम्म अध्यापनका लागि अनुमति नपाएको भन्दै गुनासो गरे।