काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले २५ वर्षपछि नक्साल हिटीमा पानीको पुनःप्रवाह भएको जानकारी दिएका छन्। सामाजिक सञ्जालमा भिडियाेमा स्टाटस लेख्दै उनले सम्पदा संरक्षणमा महानगरले सफलता पाएको उल्लेख गरेका छन्।
उनका अनुसार २०७९ सालको भदौ महिनामा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा अनुगमनका क्रममा नक्साल हिटीको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा स्थानीय बासिन्दाले उक्त हिटीमा करिब २०५५ सालदेखि पानीको निकास नभएको जानकारी दिएका थिए। साथै, पुरातत्व विभागको २०४२ सालको अभिलेखमा पनि बेलाबेला पानीको निकासमा समस्या आएर हिटी बन्द हुने उल्लेख गरिएको भेटिएको थियो।
समस्याको समाधानका लागि सम्पदा तथा पर्यटन विभागलाई आवश्यक पहल गर्न अनुरोध गरिएकोमा विभागले अनुगमन गर्दा हिटीको निकाससँग जोडिएको पुरानो मंगाललाई माटोले पुरिएको अवस्थामा फेला पारेको थियो। करिब ४ फिट खन्दा उक्त मंगाल भेटिएको भए पनि पानीको बहाव नदेखिएपछि नयाँ मंगाल निर्माण गर्नुपर्ने सुझाव आएको थियो।
मेयर शाहका अनुसार हिटीको निकास अवरुद्ध पार्ने तीनवटा घरधनीहरूलाई जनही रु. २–२ लाख जरिवाना गराई सो रकमबाट नयाँ मंगाल निर्माण गरिएको हो। उक्त हिटीको निकास नारायणहिटी संग्रहालय भित्र बग्ने टुकुचा खोलासम्म पुग्ने संरचनामा जोडिएको छ। तर, टुकुचासम्मको मार्गभित्र रुखका जरासहितका अवरोधहरूका कारण पनि हिटीको प्रणाली प्रभावित भएको पाइयो।
करिब ८ महिनासम्म हिटीको निकास प्रणाली र पानीको स्रोतमा निरन्तर काम गरिएको थियो। त्यसको परिणामस्वरूप अहिले सो हिटीमा दुईवटा स्रोतबाट पानी आउन थालेको छ। यस अवधिमा विभिन्न हिटीसम्बन्धी जानकारहरूले पनि स्थलगत अनुगमन गरेका थिए। हाल उक्त हिटीमा निरन्तर रुपमा पानी प्रवाह भइरहेको छ र सम्पदा विभागमार्फत यसको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ। हिटीको परम्परागत प्रणाली पुनः सञ्चालनमा आएकोमा मेयर शाहले खुसी व्यक्त गरेका छन्।