२३ बैशाख २०८२ , मंगलवार

काठमाडौं-१६ कि वडाध्यक्ष रोजिना श्रेष्ठ: रास्वपाको एक्लो प्रतिनिधि, सेवामा समर्पित

News
६ बैशाख, काठमाण्डौँ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ कि वडाध्यक्ष रोजिना श्रेष्ठ आफ्नो वडामा सेवाग्राहीको काममा तल्लीन भेटिन्छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित उनी देशभरिमा स्थानीय तहमा रास्वपाको एक्लो प्रतिनिधि हुन्।

गत मंसिरमा भएको उपनिर्वाचनमा ठूला दललाई पराजित गर्दै वडाध्यक्ष बनेकी श्रेष्ठले दलगत भावनाभन्दा माथि उठेर काम गरिरहेको बताउँछिन्। 'चुनावमा प्रतिस्पर्धा भयो, त्यो त्यहीँ सकियो। यहाँ त एउटा परिवारजस्तो भएर काम गर्नुपर्छ,' उनी भन्छिन्।

महानगरपालिकामा अन्य दलका जनप्रतिनिधि भए पनि काम गर्न कुनै समस्या नभएको उनको अनुभव छ। वडामा गरिने निर्णयमा सबै सदस्यको सहमति हुने गरेको छ। एक महिला वडाध्यक्षको रूपमा स्थानीयले खुसी व्यक्त गर्ने गरेको उनले बताइन्।

वडाध्यक्ष भएपछि उनले हेल्प डेस्कको रूपमा एकल सेवा केन्द्र स्थापना गरेकी छन्, जहाँ सेवाग्राहीलाई सहयोग गरिन्छ। कमजोर आर्थिक अवस्था भएका बालबालिकाका लागि बाल विकास समिति गठन गरेकी छन्। बजार अनुगमनलाई नियमित गरेकी छन्, जसले गर्दा धेरै व्यवसायी दर्ता प्रक्रियामा आएका छन्।

अव्यवस्थित तरकारी बजारलाई व्यवस्थित गर्ने उनको आगामी योजना छ। महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनीता डंगोलको कामबाट उनी प्रभावित छिन्। राजनीतिक अस्थिरता र युवामा बढ्दै गएको निराशाले देश दुर्घटनामा पर्न सक्ने उनको चिन्ता छ। अब नयाँ नेतृत्वले देश चलाउनुपर्ने उनको धारणा छ। आफ्नो कार्यकालमा वडालाई नमुना बनाउने उनको लक्ष्य छ।