९ जेष्ठ २०८२ , शुक्रबार

खानेपानी क्षेत्रमा नागरिकले देख्ने गरी काम भएको छ : मन्त्री यादव

News
३० बैशाख, बारा ।

खानेपानीमन्त्री प्रदीप यादवले देशभरका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष रूपमा देख्ने र महसुस गर्ने गरी काम भएको बताएका छन्।

आज बाराको कलैया उपमहानगरपालिकास्थित सिस्वा महेशपुर खानेपानी आयोजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशभरका खानेपानीका समस्या समाधानमा सिङ्गो मन्त्रालयले काम गरिरहेको जानकारी दिए।

“हामीले योजना मात्रै होइन, परिणाम देखिने कामलाई प्राथमिकता दिएका छौँ। नागरिकले अनुभूति गर्न सक्ने काममा सरकार प्रतिबद्ध छ,” उनले भने, “पानीको गुणस्तर, पहुँच र व्यवस्थापनमा सुधार ल्याउन मन्त्रालयले निरन्तर काम गरिरहेको छ।”

उनले तराई–मधेससहित देशका ग्रामीण बस्तीमा शुद्ध खानेपानी पु-याउने प्राथमिकता रहेको र यसका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्यमा काम भइरहेको बताए।

आज शिलान्यास गरिएको उक्त आयोजनाले कलैया उपमहानगरपालिकाका करिब १५ हजार ५६५ जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय वीरगञ्जका प्रमुख बिपुलकुमार दासले जानकारी दिए।