काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको घारीबथानका उपेश परियारको घरमा गाउँलेले मिलेर छाना हाली दिएका छन्।
यही जेठ १ गते साँझ हावाहुरीले ईश्वरपुर नगरपालिका–१२ घारिबथानस्थित गोपी चोकका बासिन्दा उपेशको घरको छानो उडाएको थियो। छानो उडाएको दुई दिनपछि शनिबार उपेशको मृत्यु भयो।
मृतकका बुवा केशव दमाई र श्रीमती सुशीला परियार पाँच वर्षको छोरा शिशिरलाई सँगै लिएर शव बुझ्न धुलिखेल पुुगेका छन्। घरमा दृष्टिविहीन आमा विष्णु दमाई र उज्ज्वलकी आठ वर्षीया छोरी उर्मिला परियार मात्रै छन्।
शव लिएर आएपछि काजकिरिया बस्ने ठाउँसमेत नरहेकाले गाउँले मिलेर उपेशको घरमा छाना छाउने काम गरेको छिमेकी फडिन्द्र पौडेलले जानकारी दिए।
उपेसको कमाइले परिवारको गुजारा चलिरहेको थियो । उपेशको प्राण गएसँगै यो परिवारको बिचल्ली हुने अवस्था आएको छ। परिवारमा दुवै आँखा नदेख्ने आमा, आम्दानी नहुने बुबा, श्रीमती र दुई छोरी छन्।
उपेस केही समयदेखि धुलिखेल क्षेत्रमा विस्तार भइरहेको हाइटेन्सन लाइनमा ठेकेदारमार्फत मजदुरको रूपमा काम गरिरहनुभएको थियो। धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालय काभ्रे अगाडि हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेका बेला एक्कासी विद्युत् लाइन छोड्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।
ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले मृतक उपेशको शव घर ल्याउन र राज्यले प्रदान गर्ने राहत रकमका लागि आफूले काभ्रे प्रशासन तथा त्यहाँका जनप्रतिनिधिसँग समन्वय गरिरहेको बताए। नगरपालिकाको तर्फबाट मृतकको परिवारको घर निर्माणका र अन्य सहयोगबारे कार्यपालिका बैठकमा छलफल गरिने उनले बताए।