२० जेष्ठ २०८२ , मंगलवार

वरिष्ठ सर्जक गणेश रसिकको निधन

News
१८ जेष्ठ, काठमाण्डौँ ।

वरिष्ठ सर्जक गणेश रसिकको ७८ वर्षको उमेरमा आज निधन भएको छ । 

ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उनको आज बिहान ११ बजे निधन भएको सङ्गीतकार बुलु मकारुङले जानकारी दिए।

उनका अनुसार रसिककी छोरी बेलायतबाट आएपछि रसिकको दाहसंस्कार गरिनेछ। उनको शरीर अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ।

भोजपुर छिनामाखुमा २००४ साल असोज ४ गते जन्मिएका रसिक पचासको दशकमा इलाम गएका थिए। करिब पाँच दशकअघि ‘लेकाली’ समूहबाट गीत गाउन सुरु गरेका रसिकले कवि, गीतकार, सङ्गीतकार, लेखक, निबन्धकार र नियात्राकारका रूपमा नाम कमाएका थिए।

उनका सारङ्गीभित्र कथासङ्ग्रह, गणेश रसिकका गीतहरु, आकाश गंगाको ओतमुनि, दशगजामा उभिएर, जब सिस्नोहरु टेक्दै हिँडेलगायतका कथा, कविता, निबन्ध, नियात्रा र संस्मरणसहित एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्।

उनका छोरा र श्रीमतीको पहिले नै निधन भइसकेको छ। हटेर होइन, डटेर लड्ने नेपालीको बानी हुन्छ, तराई हेर कति राम्रो हरियो वन हुनाले, मेरो टाउको सानो छ, यो टाउको विशाल देश छ, रातो भाले क्वाँए क्वाँएजस्ता राष्ट्रिय र लोकगीत उनले गाएका थिए। उनका केही रचना विद्यालयका पाठ्यपुस्तकमा पनि छन्।

साहित्यकार रसिकले रत्न रेकर्डिङ संस्थान र साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानको महाप्रबन्धक, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवको जिम्मेवारी पनि सम्हालेका थिए।